एमालेको ठूलो निर्णय : देशैभर ‘राष्ट्रिय स्वयंसेवक फोर्स’ र ‘टोल सुरक्षा समिति’ गठन गर्ने
शान्ति–सुरक्षा इतिहासकै नाजुक अवस्थामा पुगेको ठहर, पार्टीलाई प्रतिरोधी बन्न निर्देशन
काठमाडौं, पुस २४
नेकपा एमालेले देशैभर राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न मातहतका सबै पार्टी कमिटीलाई निर्देशन दिएको छ। भदौ २३ र २४ का घटनापछि मुलुकको शान्ति–सुरक्षा अवस्था इतिहासकै नाजुक बिन्दुमा पुगेको निष्कर्ष निकाल्दै एमालेले यस्तो निर्णय लिएको हो।
पार्टी केन्द्रीय सचिवालय बैठकको निर्णयसहित जारी अन्तरपार्टी निर्देशनमा एमालेले भनेको छ—
“राज्य व्यवस्थालाई कमजोर बनाइएको छ, नागरिकले राज्यमाथि भरोसा गर्ने र आपराधिक तत्त्वहरू राज्यबाट भयभीत हुने अवस्था छैन। आम जनता भयभीत र आपराधिक तत्त्वहरू भयरहित हुने परिस्थिति सिर्जना गरिएको छ।”
यस्तो अवस्थामा राष्ट्र, जनता र पार्टीको रक्षाका लागि सिङ्गो पार्टीपंक्ति प्रतिरोधी ढङ्गले अघि बढ्न तयार रहनुपर्ने एमालेको ठहर छ।
पालिका तहसम्म स्वयंसेवक फोर्स
एमालेले भदौ २३ र २४ पछिको अवस्थालाई ‘राज्यविहीनता’को संज्ञा दिँदै पार्टीसम्बद्ध जनसंगठनका रूपमा राष्ट्रिय स्वयंसेवक फोर्स गठन गर्ने निर्णय गरेको स्पष्ट पारेको छ।
निर्देशनअनुसार:
-
स्वयंसेवक फोर्स पार्टी कमिटीको प्रत्यक्ष नेतृत्वमा सञ्चालन हुनेछ
-
पालिका तहसम्म संरचना विस्तार गरिनेछ
-
आमजनताको सहभागितामा टोल सुरक्षा समिति गठन गरिनेछ
‘षड्यन्त्र रोक्न जनतासँगै अघि बढ्छौं’
सामाजिक सद्भाव खलबल्याउने, अशान्ति फैलाउने र जनतालाई त्रसित बनाउने षड्यन्त्र अझै जारी रहेको एमालेको दाबी छ।
भविष्यमा भदौ २३–२४ जस्तै विध्वंसकारी घटना दोहोरिन नदिन जनतासँग एकाकार भएर प्रतिरोधी नीति अपनाइने पार्टीले जनाएको छ।
‘एमाले र नेतृत्व नै मुख्य निशानामा’
एमालेले भदौ २३–२४ पछि सबैभन्दा ठूलो घेराबन्दी र प्रहार एमाले र यसको नेतृत्वविरुद्ध केन्द्रित रहेको दाबी गरेको छ।
बाहिरबाट भइरहेको नियोजित आक्रमणका बाबजुद पार्टीले चुनौती सामना गर्दै अघि बढेको र कार्यकर्ता–जनताको परिचालनबाट प्रतिगमनको यात्रालाई एक हदसम्म रोक्न सफल भएको निर्देशनमा उल्लेख छ।
लोकतान्त्रिक स्पेस फराकिलो भएको दाबी
एमालेको पहलकदमीकै कारण लोकतान्त्रिक परिवेश क्रमशः फराकिलो हुँदै गएको पार्टीको ठहर छ।
यसका उदाहरणका रूपमा एमालेले:
-
प्रधानमन्त्री प्रमुख नेतासँग औपचारिक छलफल गर्न बाध्य हुनु
-
प्रतिशोधपूर्ण हत्या अभियोगको षड्यन्त्रबाट सरकार पछि हट्नु
-
पार्टी अध्यक्षमाथि लगाइएको विदेश भ्रमण रोक र स्थान हद फिर्ता हुनु
लाई प्रस्तुत गरेको छ।
चुनाव वा आन्दोलन—दुवैका लागि तयार रहन निर्देशन
एमालेले प्रतिनिधिसभा पुनर्स्थापनालाई सुरक्षित र उपयुक्त बाटो माने पनि चुनाव भए त्यसबाट अलग नहुने स्पष्ट पारेको छ।
निर्देशनमा भनिएको छ—
“आन्दोलन वा चुनाव, जुन बाटो आउँछ त्यसका लागि पार्टीपंक्ति तयार रहनुपर्छ। मुलुकलाई सही दिशामा फर्काउनुको विकल्प छैन।”
सामाजिक सञ्जाललाई ‘हथियार’ बनाउन निर्देशन
सूचना र प्रविधिको युगमा सामाजिक सञ्जाल पार्टी कामको प्रमुख क्षेत्र भएको एमालेको ठहर छ।
पार्टीले साम्राज्यवादी र प्रभुत्ववादी शक्तिले सूचना प्रविधिलाई हतियार बनाइरहेको दाबी गर्दै आफ्ना नेता–कार्यकर्तालाई:
-
सामाजिक सञ्जालको व्यापक प्रयोग
-
पार्टी गतिविधि, सरकारका काम र नीति प्रचार
-
चुनावी उम्मेदवार र प्रतिबद्धता स्थापित गर्न डिजिटल अभियान
चलाउन निर्देशन दिएको छ।
विश्व राजनीति र भूराजनीतिक चेतावनी
एमालेले चीन र भारतको उदयसँगै विश्व शक्ति सन्तुलन बदलिँदै गएको र एकध्रुवीय विश्व व्यवस्थाले चुनौती सामना गरिरहेको विश्लेषण गरेको छ।
भेनेजुएलामा अमेरिकी हस्तक्षेपको उदाहरण दिँदै एमालेले नेपालजस्तो संवेदनशील भूराजनीतिक अवस्थाको मुलुकमा स्वाधीनता, सार्वभौमसत्ता र अखण्डता गम्भीर चुनौतीमा रहेको चेतावनी दिएको छ।
“जनचेतना, संगठन, प्रविधि र प्रतिरोध—यिनै आधारमा पार्टी र देशको भविष्य सुरक्षित गर्न सकिन्छ।”



प्रतिकृया दिनुहोस्