लगातारको चिसोले बढायो चिन्ता, तीन पालिकामा विद्यालय बिदा

लगातारको चिसोले बढायो चिन्ता, तीन पालिकामा विद्यालय बिदा

महेन्द्रनगर।
केही दिनयता अत्यधिक चिसो बढेसँगै कञ्चनपुरको जनजीवन कष्टकर बनेको छ। चिसोका कारण बालबालिकाको स्वास्थ्य र पठनपाठनमा समस्या देखिन थालेपछि सोमबार जिल्लाका तीन स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

चिसोको मार बढेपछि लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन रोकिएको हो। स्थानीयका अनुसार चिसोले विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।

बेल्डाँडी गाउँपालिकाले सोमबारदेखि लागू हुनेगरी तीन दिनका लागि सबै विद्यालयमा बिदा दिने निर्णय गरेको जनाएको छ।
त्यसैगरी, अत्यधिक जाडोले विद्यार्थी, शिक्षक तथा कर्मचारीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै बेलौरी नगरपालिकाले आगामी पुस २५ गतेसम्म जाडो बिदा दिएको नगरपालिकाका प्रवक्ता हर्कबहादुर भुलले जानकारी दिए।

यस्तै, लालझाडी गाउँपालिकाले पनि सोमबार सूचना जारी गर्दै सञ्चित हिउँदे बिदाबाट कट्टा हुनेगरी मङ्गलबार र बुधबार दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

लगातारको चिसोका कारण कञ्चनपुर सदरमुकाम महेन्द्रनगरसहित जिल्लाका सबै पालिकामा जनजीवन प्रभावित बनेको छ भने बजार क्षेत्रको चहलपहलसमेत उल्लेख्य रूपमा घटेको छ।