देशभर मौसम बदली: हिमाली क्षेत्रमा हिमपात, पहाड–तराईमा वर्षा र चट्याङको सम्भावना

देशभर मौसम बदली: हिमाली क्षेत्रमा हिमपात, पहाड–तराईमा वर्षा र चट्याङको सम्भावना

२०८२ माघ १३ गते, मंगलवार

देशका अधिकांश भू–भागमा आज मौसम बदली हुने देखिएको छ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्नुका साथै हल्का हिमपात र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि हल्का हिमपात हुन सक्ने पूर्वानुमान छ।

राति भने मौसम थप सक्रिय हुने देखिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा मध्यम वर्षा तथा मध्यम हिमपात हुने सम्भावना छ। यसका साथै ती प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाहुन सक्ने चेतावनी दिइएको छ।

तराई क्षेत्रमा पनि राति प्रभाव देखिनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र चट्याङ को सम्भावना रहेको छ। यात्रु, किसान तथा पहाडी–हिमाली क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रदेशगत रूपमा हेर्दा, कोशी र बागमती प्रदेश मा मौसम तुलनात्मक रूपमा सामान्य रहने भए पनि राति हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भने आज र राति दुवै समयमा मौसमको बढी प्रभावमा रहने देखिएको छ।

मौसमविद्हरूले हिमाली क्षेत्रमा हिमपातका कारण यातायात अवरुद्ध, पहाडी क्षेत्रमा पहिरोको जोखिम, तथा तराईमा चट्याङबाट बच्न सतर्कता अपनाउन सुझाव दिएका छन्।