गुल्मीमा पारिवारिक त्रास : छोराबाट बुबाको हत्या, आमा गम्भीर घाइते

गुल्मीमा पारिवारिक त्रास : छोराबाट बुबाको हत्या, आमा गम्भीर घाइते

गुल्मी, १६ कात्तिक।
गुल्मीमा घटेको एउटा हृदयविदारक घटनाले स्थानीय समुदाय स्तब्ध बनेको छ। मालिका गाउँपालिका–३ म्यालका २३ वर्षीय भोट बहादुर विकले आफ्नै बुबा ५० वर्षीय धन बहादुर विकको हत्या गरेको अभियोगमा प्रहरीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको छ।

प्रहरीका अनुसार, भोट बहादुरले हँसिया र काठ ठोक्ने मुहुरोले लगातार प्रहार गर्दा उनका बुबा धन बहादुरको घटनास्थलमै मृत्यु भएको थियो।

त्यसै क्रममा भोट बहादुरकी आमा दिलमाया विक गम्भीर घाइते भएकी छिन्। उनलाई तुरुन्तै उद्धार गरी लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय पुर्कोटदह र प्रहरी चौकी अर्खवाङबाट टोली खटिएर आरोपी छोरालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले घटनाको कारण र पारिवारिक पृष्ठभूमि बारे थप अनुसन्धान जारी राखेको जनाएको छ।