अदृश्य श्रमको गौरवमय रूपान्तरण : राष्ट्रिय अर्थतन्त्रमा गृह श्रमिक महिलाको ११ प्रतिशत योगदान, पहिचान र नीतिगत सम्मानको नयाँ यात्रा

अदृश्य श्रमको गौरवमय रूपान्तरण : राष्ट्रिय अर्थतन्त्रमा गृह श्रमिक महिलाको ११ प्रतिशत योगदान, पहिचान र नीतिगत सम्मानको नयाँ यात्रा

काठमाडौं, मंसिर ८ । घरको चार पर्खालभित्र वा घरसँगै जोडिएको स्थानमा बसेर सियो-धागो, ढाका, गलैँचा, पस्मिना, अल्लो, ऊनीका सामान,हस्तकला, धूपबत्ती, थाङ्का चित्रकला, खाद्य प्रशोधन तथा साना पसल सञ्चालनमार्फत परिवारको जीविकोपार्जन र मुलुकको अर्थतन्त्रमा अतुलनीय टेवा पुर्याइरहेका गृह श्रमिक (होम बेस्ड वर्कर्स)—विशेषगरी महिलाहरूको योगदानलाई अब नीति, कानुन र राष्ट्रिय तथ्याङ्कमा स्पष्ट र सम्मानजनक स्थान दिइनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । गृह श्रमिक सरोकार समाज नेपाल (होम बेस्ड वर्कर कन्सर्न सोसाइटी – HBWCSN) लगायतका संस्थाहरूको पहलमा सोमबार (२०८३ मंसिर ७ गते / नोभेम्बर २३, २०२६) नयाँ बानेश्वरस्थित अल्फा हाउसको स्काई सदन हलमा आयोजित ‘नेपालका घरमा आधारित कामदारहरूको आर्थिक योगदानको मूल्याङ्कन : सरोकारवालाहरूसँग छलफल कार्यक्रम’ मा राष्ट्रिय योजना आयोग, राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ), प्राध्यापक, अर्थशास्त्री, ट्रेड युनियन, सञ्चारकर्मी, युवा अभियन्ता तथा स्वयं श्रमिक अगुवाहरूले गृह श्रमिक महिलाको उन्नयन, पहिचान, समान ज्याला, सामाजिक सुरक्षा र नीतिगत सुधारका विषयमा सकारात्मक तथा दूरगामी बहस गरेका छन् ।

सन् २००० देखि आठ जिल्लामा करिब ३,६०० श्रमिकलाई संगठित गर्दै आएको गृह श्रमिक सरोकार समाज नेपाल (HBWCSN) तथा सहकार्यकारी संस्थाहरूको अध्ययन र छलफलअनुसार गृह श्रमिकहरूमा रोजगारदाता वा मध्यस्थकर्तामार्फत ‘पीस-रेट’ (गोटा/थानका आधारमा) ज्याला पाउने ‘होमवर्कर्स’, आफैँ कच्चा पदार्थ खरिद गरी बजारमा बेच्ने ‘ओन-एकाउन्ट वर्कर्स’ (आफ्नै लेखाका कामदार), डिजिटल प्रविधि प्रयोग गर्ने ‘रिमोट वर्कर्स’ तथा घरभित्र सञ्चालित पारिवारिक उद्यममा काम गर्ने महिलाहरू समेटिन्छन् । अनौपचारिक अर्थतन्त्रमा लामो समयदेखि अदृश्य रहँदै आएका यी श्रमिकहरूले कामको अर्डर अनियमित हुँदा, ज्याला न्यूनतमभन्दा कम हुँदा, लिखित सम्झौताको अभाव रहँदा र कार्यस्थल, उपकरण, बिजुली, कच्चा पदार्थ तथा ढुवानीको लागतसमेत आफैँ व्यहोर्नुपर्दा पनि धैर्य र सीपका साथ अर्थतन्त्रलाई चलायमान बनाइरहेका छन् । विश्वव्यापी रूपमा होमनेट इन्टरनेसनल (२०२५) को गणनाअनुसार करिब २६ करोड (विश्व श्रम शक्तिको करिब ८ प्रतिशत,जसमा ५७ प्रतिशत महिला) गृह श्रमिक छन् भने दक्षिण एसियाका भारत, नेपाल, पाकिस्तान र बंगलादेशमा मात्र ६ करोड १० लाखभन्दा बढी (करिब आधा महिला) कार्यरत छन्; सन् २००० को काठमाडौं घोषणापत्रले नै राष्ट्रिय नीति र तथ्याङ्कमा समेट्न आह्वान गरिसकेको सन्दर्भमा नेपालमा छुट्टै गृह श्रमिक नीति निर्माण र आइएलओ महासन्धि नम्बर १७७ (सी–१७७) को अनुमोदनलाई अब ढिलाइ नगरी अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

कार्यक्रममा प्रस्तुत तथ्याङ्क तथा नेपाल श्रम शक्ति सर्वेक्षण (NLFS 2017/18) र नेपाल जीवनस्तर सर्वेक्षण (NLSS 2022/23) को तुलनात्मक विश्लेषणले नेपालको श्रम बजारमा गृह श्रमिकको विशाल र बढ्दो भूमिकालाई उजागर गरेको छ । सन् २०१७/१८ को श्रम शक्ति सर्वेक्षणमा संशोधित वर्गीकरणअनुसार कुल ७० लाख ८६ हजार रोजगारीमध्ये १९.२० प्रतिशत (करिब १३ लाख ६० हजार, कार्यस्थल वर्गीकरणअनुसार २४.४ प्रतिशत अर्थात् करिब १७ लाख २७ हजार; कुलवाल र भेनेक २०२१ का अनुसार करिब १५ लाख ६० हजार वा २२.१ प्रतिशत) गृह श्रमिक देखिएका छन् भने २०२२/२३ को जीवनस्तर सर्वेक्षणमा समेटिएका कामदारमध्ये ३८.९६ प्रतिशत (करिब ३१ लाख) गृह श्रमिक रहेको अनुमान प्रस्तुत गरिएको छ, यद्यपि घरभित्रको काम, मौसमी काम वा गृहणी भनेर जनाइने सामाजिक अभ्यासले वास्तविक संख्या अझ बढी हुन सक्ने सरोकारवालाहरूले बताएका छन् ।

अर्थशास्त्री तथा अनुसन्धानकर्ताहरूले प्रस्तुत गरेको प्रारम्भिक निष्कर्षअनुसार गृह श्रमिकहरूले आफ्नो पारिवारिक आम्दानीमा औसत ३०.१ प्रतिशत (सन् २०२२/२३ को जीवनस्तर सर्वेक्षणअनुसार; काठमाडौं उपत्यकाको २०११ को सर्वेक्षणमा २९.६५ प्रतिशत र भारतको अध्ययनमा करिब ३५ प्रतिशत) योगदान दिइरहेका छन्, जसले न्यून आय तथा तल्लो उपभोग वर्गका परिवारको भान्सा, शिक्षा, स्वास्थ्य र गरिबी निवारणमा प्रत्यक्ष र महत्वपूर्ण भूमिका खेलेको छ । राष्ट्रिय तहमा २०१७/१८ को राष्ट्रिय लेखाअनुसार गृह श्रमिकहरूले करिब ३ खर्ब १७ अर्ब ५० करोड रुपैयाँ (कुल मूल्य अभिवृद्धि GVA २,७२०.७ अर्बको ११.६७ प्रतिशत र कुल गार्हस्थ्य उत्पादन GDP ३,००७.२ अर्बको १०.५६ प्रतिशत) योगदान पुर्याएका छन् भने कृषि क्षेत्रको मूल्याङ्कन विधि परिवर्तन गर्दा (जीभीएलाई सर्वेक्षण रोजगारीले भाग गर्दा) यो योगदान ५ खर्ब ५९ अर्ब रुपैयाँ अर्थात् कुल मूल्य अभिवृद्धिको २०.५५ प्रतिशतसम्म पुग्ने र गैर-कृषि क्षेत्रमा करिब २ खर्ब ६९ अर्ब ७० करोड रुपैयाँ (१३ देखि १४ प्रतिशत) हिस्सा रहेको देखिएको छ; यसमा थोक तथा खुद्रा व्यापारको हिस्सा ५१.५७ प्रतिशत, उत्पादनमूलक क्षेत्रको १७.८९ प्रतिशत र कृषिको १५.०६ प्रतिशत छ, जबकि कृषि, व्यापार र उत्पादन क्षेत्रले कुल गृह श्रमिक रोजगारीको ८८.८७ प्रतिशत समेटेका छन् ।

उमेर, शिक्षा, भौगोलिक वितरण र रोजगारीका सर्तका तथ्याङ्कले गृह श्रमिक महिला तथा कामदारहरूको सशक्तिकरण र औपचारिकीकरणमा राज्यको ध्यान तान्नुपर्ने देखाएको छ । सन् २०१७/१८ को श्रम शक्ति सर्वेक्षणअनुसार गृह श्रमिकमध्ये ६०.०४ प्रतिशत महिला (कुल कार्यरत महिलामध्ये ३०.९५ प्रतिशत र पुरुषमध्ये १२.२३ प्रतिशत; २०२२/२३ को जीवनस्तर सर्वेक्षणमा ३२.६८ प्रतिशत महिला र ३९ प्रतिशत पुरुष) रहेका छन् भने ४५ वर्ष वा सोभन्दा माथिका ३७.५५ प्रतिशत (६५ वर्षमाथिका ६.९७ प्रतिशत, अन्य कामदारको तुलनामा करिब तीन गुणा) र विद्यालय नटेकेका वा सामान्य साक्षर मात्र ४१.६८ प्रतिशत तथा विश्वविद्यालय शिक्षा हासिल गरेका १.३८ प्रतिशत मात्र छन् । भौगोलिक रूपमा ४२.३१ प्रतिशत ग्रामीण क्षेत्रमा (लुम्बिनीमा २३.५० प्रतिशत, बागमतीमा २७.४४ प्रतिशत तथा गण्डकी र कर्णालीमा पनि उल्लेखनीय) रहे पनि सहरी क्षेत्रमा तीव्र रूपमा बढिरहेका छन्; रोजगारदातामाझ काम गर्नेहरूमध्ये लिखित करार २.६१ प्रतिशत, स्थायी करार ०.७२ प्रतिशत, दैनिक करार ६५.६० प्रतिशत, रोजगारदाताले सामाजिक सुरक्षा योगदान गर्ने ०.५२ प्रतिशत, तलबसहितको वार्षिक बिदा ०.६४ प्रतिशत र बिरामी बिदा ०.६४ प्रतिशत मात्र (जीवनस्तर सर्वेक्षणमा सामाजिक सुरक्षा ०.२४ प्रतिशत, वार्षिक बिदा ०.७२ प्रतिशत र बिरामी बिदा ०.७७ प्रतिशत) रहेकाले ९९ प्रतिशतभन्दा बढी श्रमिकलाई आधारभूत सामाजिक सुरक्षा र कानुनी संरक्षणमा समेट्नुपर्ने साझा निष्कर्ष निकालिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय योजना आयोगका माननीय सदस्य सिपु कर्णवालले रोजगारी भन्नासाथ कारखाना वा कार्यालयको कामलाई मात्र बुझ्ने परम्परागत दृष्टिकोणलाई फराकिलो बनाउँदै घरभित्रको उत्पादनशील श्रमलाई सम्मान गर्नुपर्ने बताउनुभयो । आफ्नै जिल्लाको गाउँमा एक महिलाले घरमै बसेर बुनेको ढाकाको इस्टकोट लगाउनुभएका माननीय कर्णवालले गाउँघरमा महिलाहरूले मिहिनेत गरेर बुनेका उत्पादनहरू विश्वव्यापी मूल्य शृङ्खला (ग्लोबल भ्यालु चेन) मा जोडिएपछि मात्र गरिबी निवारणको जग बलियो हुने र तथ्याङ्कसँगै त्यसको पछाडिको मानवीय कथा तथा वेदनालाई नीति निर्माताले सधैँ सम्झनुपर्ने धारणा राख्नुभयो ।

गृह श्रमिकको अधिकारका लागि विगत २५ वर्षदेखि भइरहेको अनवरत प्रयासको प्रशंसा गर्दै माननीय कर्णवालले “कहिलेकाहीँ हामीले नीतिहरू हावामा बनाइरहेका हुन्छौँ कि जस्तो लाग्छ, तर यस्ता संवादले नीतिलाई भुइँ तहको वास्तविकतासँग जोड्छ” भन्नुभयो । उहाँले १६औँ पञ्चवर्षीय योजनाको मध्यावधि समीक्षा, १७औँ योजनाको तयारी, दीर्घकालीन विकास सोच २०५० (भिजन २०५०) र विपद्पछिको उत्थानशीलता (पीडीएनए तथा इकोनोमिक रेजिलेन्स) रणनीतिमा गृह श्रमिक र ‘फ्युचर अफ वर्क’ का सिकाइहरूलाई समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, नीति निर्माणलाई स्पष्ट र प्रभावकारी बनाउन ‘परिभाषा’ (डिफाइन), ‘मापन’ (मेजर), तथ्याङ्कको ‘प्रयोग’ (युज) र ‘कार्यान्वयन’ (इम्प्लिमेन्ट) गरी चार चरणमा काम गर्नुपर्ने, त्यसका लागि आयोगले ‘पोलिसी रिसर्च ल्याब’ स्थापना गर्न लागेको तथा संघीय बहसलाई प्रदेश र ७५३ वटै स्थानीय तहसम्म पुर्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

राष्ट्रिय तथ्याङ्क कार्यालय (एनएसओ) का प्रतिनिधि मनोहर घिमिरेले गृह श्रमिकहरूको आर्थिक योगदानको तथ्याङ्क संकलन र विश्लेषणलाई अत्यन्तै सकारात्मक र सान्दर्भिक पहलका रूपमा सराहना गर्दै कार्यस्थल घर भए पनि पसल वा अन्य व्यवसाय छुट्याउन प्रश्नावलीका भेरिएबलहरूबीच क्रस–लिङ्केज तथा भ्यालिडेसन आवश्यक रहेको र परम्परागत लघु उद्यममा संलग्न गृह श्रमिक तथा आधुनिक प्रविधिमा आधारित ‘रिमोट वर्क’ वा ‘गिग इकोनोमी’ बीचको स्पष्ट कानुनी परिभाषा तयार भएमा तथ्याङ्क मापन अझ प्रभावकारी हुने बताउनुभयो । घिमिरेले राष्ट्रिय तथ्याङ्क कार्यालयले हाल सञ्चालन गरिरहेको नयाँ श्रम शक्ति सर्वेक्षण (२०२५/२६, फागुनसम्म फिल्ड वर्क) मा पहिलो पटक ‘टाइम युज मोड्युल’ थपिएको जानकारी दिँदै यसले २४ घण्टाको समय उपयोग, विशेषगरी महिलाहरूले घरभित्र गर्ने बेतलबी हेरचाह कार्य (अनपेड केयर वर्क) र दिगो विकास लक्ष्य (एसडिजी ५.४.१) का सूचकहरू मापन गर्न सघाउने तथा आगामी दिनमा श्रम शक्ति सर्वेक्षणको प्रतिवेदनमा गृह श्रमिकसम्बन्धी छुट्टै खण्ड वा पूरक प्रतिवेदन (कम्प्लिमेन्ट्री रिपोर्ट) तयार पार्न कार्यालय सकारात्मक रहेको स्पष्ट पार्नुभयो ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) की प्रतिनिधि बिना कुँवर थापाले गृह श्रमिक महिला तथा कामदारहरूले अर्थतन्त्रमा पुर्याएको योगदानलाई ‘माया र दया’ को दृष्टिले मात्र नभई बलियो ‘आर्थिक आधार’ (इकोनोमिक केस) का रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो । श्रम मन्त्रालयले हाल श्रम ऐनको संशोधन प्रक्रिया अगाडि बढाइरहेको र त्यसमा गृह श्रमिकका मुद्दा समेट्न छुट्टै खण्ड राख्ने विषयमा छलफल भइरहेको, आइएलओको गृह श्रमिकसम्बन्धी महासन्धि नम्बर १७७ (सी–१७७) को अनुमोदन (र्‍याटिफिकेसन) तथा समान कामको समान ज्यालासम्बन्धी महासन्धि १११ को व्यावहारिक कार्यान्वयन, लेबर इन्स्पेक्सन र स्पष्ट पेनाल्टीको व्यवस्था आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो; साथै समान ज्याला नपाएको खण्डमा स्थानीय तहका उपमेयरको नेतृत्वमा रहेको न्यायिक समितिमार्फत पनि उपचार खोज्न सकिने कानुनी व्यवस्थाबारे श्रमिकहरूलाई सचेत गराउनुपर्ने सुझाव दिनुभयो ।

गृह श्रमिक सरोकार समाज नेपालकी संस्थापक एवं अगुवा प्रभा वैद्य तथा कमला पन्त, कल्पना बराइली, जिफन्ट आबद्ध गृह श्रमिक ट्रेड युनियनकी अध्यक्ष ज्ञानु केसी, एनटियुसी आबद्ध वागेश्वरी, विनिता घैराना, सबल नेपाल तथा होमनेट साउथ एसियाकी बोर्ड सदस्यलगायतका श्रमिक अगुवाहरूले विगत २५ वर्षदेखि आफूहरूले उठाउँदै आएको पहिचान, मर्यादा र अधिकारको मुद्दालाई अब राज्यले नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँहरूले नेपालको व्यावसायिक वर्गीकरण (अकुपेसनल क्याटागोरी) मा सडक व्यापारी र घरेलु श्रमिक समेटिए पनि ‘गृह श्रमिक’ को स्पष्ट परिभाषा र वर्गीकरण नहुँदा राज्यका नीति तथा सामाजिक सुरक्षा कोषका सुविधाबाट वञ्चित हुनुपरेको गुनासो राख्नुभयो ।

श्रमिक अगुवाहरूले सरकार, रोजगारदाता र ट्रेड युनियन रहने त्रिपक्षीय संयन्त्र (ट्राइपार्टाइट कमिटी) मा गृह श्रमिकहरूको प्रत्यक्ष प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने, श्रम ऐन संशोधनमा आफूहरूले बुझाएको तीन महले सुझाव समेटिनुपर्ने, केयर पोलिसीमा गृह श्रमिक महिलाको दोहोरो कार्यबोझ घटाउने प्रावधान राखिनुपर्ने तथा सामग्री कसले दिन्छ, ज्याला कसरी तिर्छ, मूल्य कसले तोक्छ, अर्डर कति रद्द हुन्छ र उत्पादन लागत कति पर्छ भन्ने प्रश्नहरू सर्वेक्षणमा समावेश गरिनुपर्ने माग गर्नुभयो । कार्यक्रममा ज्येष्ठ नागरिक तथा लैंगिक समानता अभियन्ता शान्तारत्न श्रेष्ठले दिगो विकास लक्ष्य ५ र ८ हासिल गर्न गृह श्रमिकको अदृश्य श्रमको मूल्याङ्कन अनिवार्य रहेको बताउँदै राष्ट्रिय टोपी बुन्ने श्रमिकको पहिचान ओझेलमा परेको उदाहरण दिँदै १६ देखि ४९ वर्षको उमेर समूहमा मात्र सीमित नराखी ‘जीवनचक्र दृष्टिकोण’ (लाइफ कोर्स एप्रोच) बाट ज्येष्ठ नागरिक र बालबालिकाको योगदान तथा अन्तरसम्बन्धित विभेद (इन्टरसेक्सनालिटी) लाई पनि समेट्नुपर्ने सुझाव दिनुभयो ।

त्यसैगरी, नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य (पाटन निवासी, ५३ वर्ष पुरानो महासंघमा ४,००० भन्दा बढी सदस्य र १,३००–१,४०० सक्रिय सदस्य रहेको उल्लेख गर्दै) र बागमती प्रदेश हस्तकला संघका अध्यक्ष नवीन शाक्य (प्रस्तर तथा काष्ठकलाका विज्ञ) ले हस्तकला निर्यात र प्रवर्द्धनको मुख्य आधार नै घरमा बसेर काम गर्ने कलाकार र श्रमिकहरू रहेको उल्लेख गर्दै नीतिगत वकालतमा सधैँ साथमा रहेको बताउनुभयो । त्रिभुवन विश्वविद्यालय, पाटन संयुक्त क्याम्पस र काठमाडौं विश्वविद्यालयका प्राध्यापक तथा शोधकर्ताहरू पुष्पा घिमिरे (ललितपुर हात्तीवन निवासी, ३०–३५ वर्ष अर्थशास्त्र पढाएकी), डा. सुनिता शर्मा, हीरा श्रेष्ठ, गोपा पाण्डेलगायतले गृह श्रमिकको भ्यालु चेन म्यापिङ, कच्चा पदार्थको आपूर्ति, घरको बिजुली तथा स्थानको लागत र सामाजिक सुरक्षामा सरकारी योगदान सुनिश्चित गर्ने गरी थप गहन अध्ययन आवश्यक रहेको तथा एउटै परिभाषामा तथ्याङ्क अद्यावधिक गरी एनएलएफएस–४ परिवारबाट करिब ९०० गृह श्रमिकको फलोअप सर्वेक्षण र प्राथमिकताका चार–पाँच क्षेत्रमा भ्यालु चेन अध्ययन गरिनुपर्ने निष्कर्ष निकाल्नुभयो ।

कार्यक्रममा बालसंकार डटकमकी गंगा कतिवडा, साहित्यकार रेणुका भट्टराई मन्जरी, राससका प्रकाश सिलवाल, ट्रेड युनियनकर्मी अम्बर, युवा अभियन्ता दामोदर भट्ट  (साउथ एसियन युथ एलायन्स – साया बागमती प्रदेश इन्चार्ज) लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रबाट गृह श्रमिक महिलाको सम्मान, सीप विकास र सशक्तिकरणमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए, र कार्यक्रमको अन्त्यमा गृह श्रमिकहरूले आफ्नै हातले तयार पारेका कलात्मक सामग्रीहरू प्रमुख अतिथि माननीय सिपु कर्णवाल, राष्ट्रिय तथ्याङ्क कार्यालयका मनोहर घिमिरे तथा आइएलओकी बिना कुँवर थापा लगायतका अतिथिहरूलाई मायाको चिनोका रूपमा प्रदान गरिएको थियो ।