नेपालको रेस्टुरेन्ट क्षेत्रलाई प्रविधिमैत्री बनाउन ‘लिङ्कसोल डिजिटल’को नयाँ प्रणाली सार्वजनिक
काठमाडौं । आतिथ्य तथा रेस्टुरेन्ट व्यवसायको दैनिक कार्यसञ्चालनलाई प्रविधिसँग जोड्दै सेवालाई छरितो बनाउने उद्देश्यका साथ ‘लिङ्कसोल डिजिटल’ (Linksol Digital) ले आधुनिक डिजिटल रेस्टुरेन्ट व्यवस्थापन प्रणाली (QR Kitchen) सार्वजनिक गरेको छ ।
कम्पनीका प्रबन्ध निर्देशक सुदिन ढकालको नेतृत्वमा विकास गरिएको यस प्लेटफर्मले रेस्टुरेन्टमा अर्डर लिने, भान्सासम्म सूचना पुर्याउने,बिलिङ गर्ने र बिक्रीको हिसाब राख्ने सम्पूर्ण प्रक्रियालाई एउटै डिजिटल माध्यममा एकीकृत गरेको छ ।
यस प्रविधिको प्रयोगसँगै अब ग्राहकहरूले टेबलमा रहेको ‘क्यूआर कोड’ (QR Code) स्क्यान गरेर कुनै पनि मोबाइल एप डाउनलोड नगरी सिधै आफ्नो फोनबाट मेनु हेर्न र परिकार अर्डर गर्न सक्नेछन् । ग्राहकले पठाएको अर्डर तत्कालै भान्साको ‘किचन डिस्प्ले सिस्टम’ (KDS) र काउन्टरको ‘पोइन्ट अफ सेल’ (POS) मा पुग्ने भएकाले सेवा प्रवाहमा ढिलासुस्ती नहुने कम्पनीले जनाएको छ । साथै, आवश्यकता पर्दा ग्राहकले मोबाइलबाटै वेटर बोलाउने सूचना (नोटिफिकेसन) पठाउन सक्ने सुविधा समेत यसमा छ ।
ग्राहकको सुविधाका लागि नेपाली र अंग्रेजीसहित सातवटा भाषामा डिजिटल मेनु उपलब्ध गराउन सकिने यस प्रणालीमा इन्टरनेट नचलेको (अफलाइन) अवस्थामा पनि काम नरोकिने व्यवस्था मिलाइएको छ ।
नेपालको प्रचलित कर कानुनअनुरूप १३ प्रतिशत मूल्य अभिवृद्धि कर (VAT) र व्यवसायको प्यान (PAN) विवरणसहितको कर बिजक जारी गर्न सकिने यो प्रणालीमा नगद, कार्ड र क्यूआरमार्फत भुक्तानी लिने तथा समूहमा आउने ग्राहकका लागि बिल विभाजन (स्प्लिट) गर्ने सुविधा समेत समेटिएको छ ।
प्रबन्ध निर्देशक ढकालका अनुसार मानवीय त्रुटि कम गर्दै ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्नु नै यस प्रणालीको मुख्य लक्ष्य हो । यस सफ्टवेयरमार्फत रेस्टुरेन्ट सञ्चालकहरूले दैनिक कारोबार, सर्वाधिक रुचाइएका परिकार र ग्राहकको अत्यधिक चाप हुने समयको विस्तृत तथ्याङ्क विश्लेषण गरी आवश्यक रिपोर्ट डाउनलोड समेत गर्न सक्नेछन् ।



प्रतिकृया दिनुहोस्