नेपाल सदैव शान्ति र अहिंसाको पक्षमा रहेको छ : नेकपा (एमाले) उपमहासचिव प्रदीप ज्ञवाली
काठमाडौं, साउन १० । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल सदैव शान्ति र अहिंसाको पक्षमा रहेको बताएउनुभएकाे छ । प्रवासी नेपाली मञ्च इजरायलको तेस्रो राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई इजरायलबाट सम्बोधन गर्दै ज्ञवालीले हिंसा र आतंकवादको कुनै पनि प्रकारलाई नेपालले विरोध गर्ने स्पष्ट पार्नुभयो।
उहाँले इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका नेपालीहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै हालसम्म बेपत्ता रहेका विपिन जोशीको खोजीमा नेपाल सरकार र इजरायल सरकार सक्रिय रहेको जानकारी दिनुभयो। “म आशा गर्छु विपिन जोशी सकुशल फर्कने छन् र उहाँको बाटो कुर्दै गरेका परिवारजनले राहत महसुस गर्नेछन्। नेपाल सरकार उहाँहरूको साथमा छ,” उहाँले बताउनुभयो।
ज्ञवालीले नेपाल र इजरायलबीच झण्डै ७० वर्षदेखि मित्रता रहेको स्मरण गराउँदै भन्नुभयाे, “इजरायल आफ्नो सैन्य शक्तिमा भरोसा गरेर आफ्नो देश रक्षा गरिरहेको छ भने नेपाल शान्ति र कूटनीतिक माध्यमबाट राष्ट्रिय स्वाभिमान जोगाइरहेको छ।”
उहाँले इजरायलले नेपालीलाइृ रोजगारी दिएर गुन लगाएकाे बताउनुभयाे । नेपालले पनि इजरायललाई सहयोग गर्ने प्रतिबद्धता ज्ञवालीले जनाउनुभयाे । “नेपाल दक्षिण एसियामा पहिलो देश हो जसले इजरायललाई मान्यता दिएको हो,” ज्ञवालीले जानकारी दिनुभयो।
ज्ञवालीले नेपालको संघीयता कार्यान्वयन गर्दै अधिकार जनतासम्म पुर्याउन सरकार प्रतिबद्ध रहेको बताउँदै, “संघीयताको उद्देश्य जनतासम्म सरकार नजिक पुर्याउनु हो,” भन्नुभयो। उहाँले देशमा आशावादका साथ अघि बढ्नुपर्ने र नकारात्मकतामा मात्र फसेर नबस्नुपर्ने जोड दिनुभयो।
वर्तमान सरकारमा दुई ठूला दल एमाले र कांग्रेसबीच सहकार्यले देशमा राजनीतिक स्थिरता र आर्थिक सुधार आएको बताउँदै ज्ञवालीले दुवै दल प्रतिष्पर्धी मात्र नभई देश परिवर्तनका सहयात्री भएको स्पष्ट पार्नुभयो। “यो सहकार्य राजनीतिक स्थिरताका लागि हो र अर्थतन्त्र विकासका लागि हो,” उहाँले भन्नुभयो।
ज्ञवालीले अस्थिरता अन्त्य गर्न आगामी निर्वाचनमा एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताउँदै देशमा आशा र विश्वासको वातावरण बढ्दो रहेको उल्लेख गर्नुभयो। उहाँले नेपालको प्रगति विश्वका लागि उदाहरणीय भएको र नेपाल कठिनाइ सामना गर्दै अघि बढ्न सक्ने राष्ट्र भएको विश्वास व्यक्त गर्नुभयो।
Source : Nabaraj Pathik



प्रतिकृया दिनुहोस्