गजेन्द्र थपलिया नेपाल बुद्धिजीवी परिषदको अध्यक्षमा निर्वाचित

गजेन्द्र थपलिया नेपाल बुद्धिजीवी परिषदको अध्यक्षमा निर्वाचित

काठमाडौं, जेठ १९ – नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा इञ्जिनियर गजेन्द्र प्रसाद थपलिया निर्वाचित हुनुभएको छ । हालै सम्पन्न ११औं राष्ट्रिय अधिवेशनले थपलियाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो।

परिषद्को ९६ पदमा सर्वसम्मत चयन भए पनि अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचन प्रक्रिया अपनाइएको थियो। अध्यक्ष पदमा थपलिया १४४ मत प्राप्त गर्दै विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी डा. दिपेन्द्र भण्डारीले १०४ मत ल्याउँनुभयो । उपाध्यक्षमा गोविन्द्र शाही १५३ मतसहित विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी बिपिन कुमार चित्रकारले १०२ मत ल्याउँनुभयो । सचिव पदमा भने डा. अर्जुन कुमार सिंहले ९६ मत ल्याउँदा प्रा.डा. इश्वरी कडरियाले १६१ मत प्राप्त गरेर निर्वाचित हुनुभयो ।

महिला उपाध्यक्ष राधा अधिकारी, महासचिव डा. दिपेन्द्र श्रेष्ठ, उपमहासचिव सुशील विक, विदेशी मामिला सचिव डा. लाक्पा शेर्पा, प्रचार सचिव डा. टीका ढकाल तथा आर्थिक सचिव कृष्ण कुमार लम्साल सर्वसम्मत चयन हुनुभएका पदाधिकारी हुन्।

थपलियाले निर्वाचनपछिको मन्तव्यमा आफू बुद्धिजीवी वर्गको विवेकपूर्ण निर्णयबाट नेतृत्वमा पुगेको बताउनु भयो । परिषद् आफ्नो परिवारभन्दा पनि प्रिय भएको उल्लेख गर्दै उहाँले सबैको साथ र विश्वासप्रति आभार व्यक्त गर्नु भयो ।

निवर्तमान अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले परिषद्ले पछिल्ला वर्षहरूमा विचार, बहस र नीतिगत हस्तक्षेपमार्फत मुलुकको राजनीतिक तथा सामाजिक क्षेत्रलाई प्रभाव पार्ने प्रयास गरेको बताउनु भयो । अब नेतृत्व परिवर्तनसँगै त्यो भूमिका अझै सशक्त र संस्थागत बन्नुपर्नेमा उनले जोड उहाँले जोड दिनुभयो ।