NICCI र बागमती विश्वविद्यालयबीच सहकार्यको सम्झौता, विद्यार्थीलाई रोजगारीदेखि उद्यमशीलतासम्म जोड्ने लक्ष्य
काठमाडौँ, २७ अगस्ट २०२६ । नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (NICCI) र बागमती विश्वविद्यालयबीच शैक्षिक क्षेत्र र उद्योगबीचको दूरी कम गर्दै विद्यार्थीलाई व्यावहारिक ज्ञान, सीप तथा रोजगारीका अवसरसँग जोड्ने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।
सम्झौतामा NICCI का अध्यक्ष सुनिल के.सी. र बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले हस्ताक्षर गर्नुभएको हो। सम्झौताले विश्वविद्यालयमा प्राप्त शैक्षिक ज्ञानलाई उद्योग क्षेत्रको व्यावहारिक अनुभवसँग जोड्दै विद्यार्थी तथा युवाको क्षमता विकास र उद्यमशीलतालाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ।
समझदारीअनुसार दुवै संस्थाले विद्यार्थीका लागि इन्टर्नसिप तथा रोजगारीमा सहजीकरण, संयुक्त अनुसन्धान तथा नवप्रवर्तन, तालिम एवं क्षमता विकास, सम्मेलन, समिट, कार्यशाला तथा सेमिनार आयोजना गर्न सहकार्य गर्नेछन्।
त्यस्तै ज्ञान तथा प्रकाशन आदानप्रदान, पाठ्यक्रम तथा शिक्षण पद्धति सुधार, उद्यमशीलता तथा स्टार्टअप प्रवर्द्धन, संयुक्त परियोजना तथा केस स्टडी, विद्यार्थी तथा प्राध्यापकको सहभागिता र नीति पैरवी तथा विचार नेतृत्वका क्षेत्रमा समेत सहकार्य गर्ने सहमति भएको छ।
सम्झौताले उद्योगको आवश्यकता र विश्वविद्यालयमा उपलब्ध शैक्षिक ज्ञानबीच प्रभावकारी सम्बन्ध स्थापित गर्ने अपेक्षा गरिएको छ। यसबाट विद्यार्थीले अध्ययनसँगै उद्योगको वास्तविक कार्यक्षेत्रबारे अनुभव प्राप्त गर्ने र भविष्यमा रोजगारी तथा उद्यमशीलताका लागि आवश्यक सीप विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
NICCI र बागमती विश्वविद्यालयका प्रमुखहरूले सम्झौताले नेपालमा शिक्षा, उद्योग, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताबीचको सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। विशेषगरी युवालाई दक्ष जनशक्तिका रूपमा विकास गर्दै रोजगार बजारको आवश्यकता सम्बोधन गर्न सहकार्य महत्वपूर्ण हुने उनीहरूको धारणा छ।
बागमती विश्वविद्यालय बागमती प्रदेश सरकारद्वारा प्रदेश उच्च शिक्षा ऐन, २०७८ अन्तर्गत स्थापना भएको सार्वजनिक विश्वविद्यालय हो। विश्वविद्यालयले व्यावहारिक ज्ञान, व्यावसायिक तथा सिर्जनात्मक सीप, अनुसन्धान र नवप्रवर्तनमा आधारित शिक्षालाई प्राथमिकता दिँदै दक्ष र जिम्मेवार जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ।
यता सन् १९९३ मा स्थापना भएको NICCI नेपाल र भारतबीच आर्थिक सम्बन्ध विस्तार तथा व्यापार, लगानी, पर्यटन, ऊर्जा, पूर्वाधार, उद्योगलगायतका क्षेत्रमा सहकार्य प्रवर्द्धन गर्ने द्विराष्ट्रिय गैरसरकारी तथा गैरनाफामूलक संस्था हो। NICCI ले व्यवसायी, नीति निर्माता र विभिन्न सरोकारवालाबीच सहकार्यको वातावरण निर्माण गर्दै आएको छ।
पछिल्लो समय उद्योग र शैक्षिक संस्थाबीचको सम्बन्धलाई प्राथमिकता दिँदै आएको NICCI का लागि बागमती विश्वविद्यालयसँगको यो सम्झौतालाई शिक्षा र उद्योगबीचको सहकार्यलाई संस्थागत बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
समझदारीपत्र हस्ताक्षर भएको मितिदेखि लागू हुने जनाइएको छ। आगामी दिनमा दुवै संस्थाले संयुक्त रूपमा विभिन्न कार्यक्रम तथा परियोजना अघि बढाउने अपेक्षा गरिएको छ।



प्रतिकृया दिनुहोस्