नेपालमा अर्को भीषण बाढीको उच्च जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । नेपाल–चीन सीमावर्ती क्षेत्रमा नदी थुनिएर बनेको अस्थायी ताल पूर्ण रूपमा नखुलेको भन्दै नेपालतर्फका नदी तटीय क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने जोखिमप्रति सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
जल तथा मौसम विज्ञान विभागको बाढी शाखाका अनुसार चीनतर्फ थुनिएको नदी तथा हिमताल क्षेत्रमा अझै करिब ७ मिटर अग्लो बाँधजस्तो संरचना बाँकी रहेको बताइएको छ। उक्त क्षेत्रमा पानीको बहाव र दबाब कायम रहेकाले बाँध पूर्ण रूपमा हट्नुअघि वा अचानक भत्किएमा ठूलो परिमाणमा पानी तथा लेदो तल्लो तटीय क्षेत्रमा आउन सक्ने जोखिम रहेको प्राविधिकहरूको भनाइ छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै जल तथा मौसम विज्ञान विभागले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पूर्वसतर्कता अपनाउन र सम्भव भएसम्म सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। चीन सरकारले पनि सीमावर्ती क्षेत्रमा देखिएको अवस्थाबारे नेपालका सम्बन्धित विपद् व्यवस्थापन निकायलाई जानकारी गराएको जनाइएको छ।
बाढी शाखाका हाइड्रोलोजिस्ट सौहार्द जोशीका अनुसार प्रभावित क्षेत्रको अवस्थाबारे अन्तर्राष्ट्रिय भू–उपग्रह प्रविधिमार्फत निरन्तर निगरानी तथा विश्लेषण भइरहेको छ। अवस्थाको परिवर्तनअनुसार थप सूचना सार्वजनिक गरिने बताइएको छ।
यसैबीच भोटेकोशी तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई नदीको पानीको सतह अचानक बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। नदी किनारमा अनावश्यक आवतजावत नगर्न, रातको समयमा विशेष सतर्क रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी हुने सूचनालाई प्राथमिकताका साथ पालना गर्न आग्रह गरिएको छ।
ठाँटी खबरको अपिल : बाढीको जोखिम रहेको क्षेत्रमा बसोबास गर्ने सबै नागरिकले सम्भावित जोखिमलाई सामान्य नठानी आवश्यक तयारीसहित उच्च सतर्कता अपनाऔँ। एक्कासि पानीको सतह बढेमा सुरक्षित स्थानतर्फ जान ढिलाइ नगरौँ।



प्रतिकृया दिनुहोस्