३५१ दिनमा विकासको नयाँ आधार : बागमती प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्रालयका उपलब्धिले देखायो सकारात्मक परिणाम

३५१ दिनमा विकासको नयाँ आधार : बागमती प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्रालयका उपलब्धिले देखायो सकारात्मक परिणाम

हेटौँडा, ७ साउन । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा नीति निर्माण, पूर्वाधार विकास, सडक सञ्जाल विस्तार, शहरी विकास, सार्वजनिक भवन व्यवस्थापन, विपद् प्रतिकार्य तथा समावेशी विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।

भौतिक पूर्वाधार विकास मन्त्री मा डा. दिनेशचन्द्र देवकोटाज्यूले मन्त्रालयको जिम्मेवारी सम्हालेका २०८२ साल श्रावण २० गतेदेखि २०८३ साल श्रावण ६ गतेसम्म (३५१ दिन) को कार्यकालमा मन्त्रालयले विकासका विभिन्न क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने नीति, योजना र कार्यक्रमहरू अघि बढाएको उल्लेख गरेका छन्। जिम्मेवारीबाट बिदा हुँदै उनले पार्टी नेतृत्व, मुख्यमन्त्री, सत्ता साझेदार दल, मन्त्रालयका सचिव, कर्मचारी, सचिवालय टोली तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्नुभएकोछ।

उहाँका अनुसार मन्त्रालयले यस अवधिमा Climate Resilient Infrastructure Planning Guideline, सार्वजनिक भवनमा सर्वसुलभ डिजाइन निर्देशिका, बायो–इन्जिनियरिङ निर्देशिका, शहरी नीति २०८३, शिव सर्किट परियोजना, एकीकृत बस्ती विकास, फोहरमैला व्यवस्थापन, जनता आवास, खरको छानामुक्त कार्यक्रम, जग्गा विकास ऐन लगायतका महत्वपूर्ण नीति तथा कानुनी आधार तयार गर्दै दीर्घकालीन विकासको जग बलियो बनाएको छ।

पूर्वाधार निर्माणतर्फ मन्त्रालयले गत आर्थिक वर्षमा २३१.३१ किलोमिटर कालोपत्रे/ढलान सडक, १३६.६६ किलोमिटर ग्राभेल सडक स्तरोन्नति, ४४ वटा सडक पुल, ६ वटा झोलुङ्गे पुल, १७ सरकारी भवन, १०२ सामुदायिक भवन, ९४० वटा आवास निर्माण तथा १७ वटा पार्क निर्माणसम्पन्न गरेको जनाएको छ।

मन्त्रालयले ४१ वटा रुग्ण आयोजनामध्ये ७ वटा सम्पन्न गरी २३ वटा आयोजनाको निर्माण कार्य पुनः सुचारु गरेको छ भने बाँकी आयोजनाको काम अघि बढाउन आवश्यक समन्वय जारी रहेको जनाएको छ। कार्यसम्पादनमा ढिलाइ गर्ने ४ वटा आयोजनामा हर्जना सहित कारबाहीगरिएको पनि मन्त्रालयले जानकारी दिएको छ।

विपद् व्यवस्थापनतर्फ मन्त्रालयले Quick Response Team (QRT) लाई निरन्तरता दिँदै फाखेल–सिस्नेरी सडक खण्डमा आएको अवरोध २४ घण्टाभित्र हटाई यातायात सञ्चालन गराएको उल्लेख गरेको छ। त्यस्तै सार्वजनिक भवनहरूको डिजिटल व्यवस्थापनका लागि Building Management Information System (BMIS) तयार गरिएको छ।

मन्त्रालयले बागमती प्रदेश सरकारको प्रशासनिक भवन निर्माण प्रक्रिया अघि बढाउँदै नेपाल सरकारबाट आवश्यक भोगाधिकार प्राप्त गरी रुख कटान कार्य प्रारम्भ गरेको जनाएको छ। साथै शिव सर्किट परियोजना कार्यान्वयनको आधार तयार भइसकेको र प्रदेशभर धार्मिक पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध रूपमा काम अघि बढाइएको जनाएको छ।

अन्तर्राष्ट्रिय सहकार्य विस्तारका लागि विश्व बैंक, एशियन डेभलपमेन्ट बैंक (ADB) तथा एशियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (AIIB)लगायतका विकास साझेदारसँग सहकार्य सुदृढ गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

आर्थिक प्रगतितर्फ मन्त्रालयले रु. २२ अर्ब ४५ करोडभन्दा बढी विनियोजित बजेटमध्ये हालसम्म रु. १४ अर्ब २३ करोडभन्दा बढी खर्च गर्दै ६३.४० प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाएको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मन्त्रालयले प्रादेशिक सडक गुरुयोजना, राजधानी चक्रपथ, सडक सुरक्षा, पुल निर्माण, जलवायु उत्थानशील पूर्वाधार, पहिरो नियन्त्रण, स्थानीय तह केन्द्र जोड्ने सडक, शिव सर्किट, एकीकृत फोहरमैला व्यवस्थापन, मुख्यमन्त्री आवास कार्यक्रम, सर्वसुलभ डिजाइनमा आधारित पूर्वाधार तथा सार्वजनिक भवन सम्पत्ति बीमा लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

मा. मन्त्री डा. दिनेशचन्द्र देवकोटाज्यूले आफ्नो कार्यकालमा प्राप्त अनुभव, सहयोग र सहकार्य सधैँ स्मरणीय रहने उल्लेख गर्दै मन्त्रालयले आगामी दिनमा पनि विकास र समृद्धिको यात्रालाई अझ प्रभावकारी ढंगले अघि बढाउने विश्वास व्यक्त गर्नुभएकोछ । उहाँले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने पार्टी नेतृत्व, मुख्यमन्त्री, सत्ता साझेदार दल, मन्त्रालय परिवार, सचिवालय टोली तथा सम्पूर्ण शुभेच्छुकप्रति पुनः हार्दिक आभार  ब्यक्त गर्दै बागमती प्रदेशवासीको सुख, स्वास्थ्य र समृद्धिको कामना ब्यक्त गर्नुभयो ।