वैदेशिक रोजगारीको लोभ देखाएर लाखौं ठगी गर्ने दुई ‘एजेन्ट’ पक्राउ: बेलायत र बुल्गेरिया पठाइदिने बहाना
काठमाडौं, १५ वैशाख । आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीका लागि बेलायत र बुल्गेरिया पठाइदिन्छु भन्दै सर्वसाधारणलाई ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको हो।
बेलायतको सपना देखाएर डेढ लाख ठगी
पक्राउ पर्नेमा रौतहट राजपुर नगरपालिका-६ घर भई हाल काठमाडौं-२६ बस्ने २४ वर्षीय दिपक कुमार जयसवाल रहेका छन्। जयसवालले एक पीडितलाई बेलायत पठाइदिने र त्यहाँ आकर्षक कमाई हुने प्रलोभनमा पारी १ लाख ५० हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए। उनलाई प्रहरीले सोमबार नागार्जुन नगरपालिका-८ बाट पक्राउ गरेको हो।
बुल्गेरिया पठाउने भन्दै १६ लाख कुम्ल्याए
त्यसैगरी, सर्लाही हरिपुर नगरपालिका-२ घर भएका ३५ वर्षीय मोहन कुमार थापाले दुई जना पीडितहरूलाई बुल्गेरिया पठाउने बहानामा १६ लाख रूपैयाँ ठगी गरेको खुलेको छ। ठूलो रकम लिएर फरार रहेका थापालाई प्रहरीले आइतबार काठमाडौं महानगरपालिका-६ बाट नियन्त्रणमा लिएको हो।
कारबाहीका लागि ताहाचल पठाइयो
पीडितहरूको उजुरीका आधारमा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ। पछिल्लो समय सामाजिक सञ्जाल र व्यक्तिगत सम्पर्कमार्फत वैदेशिक रोजगारीको नाममा ठगी हुने क्रम बढेकाले सचेत रहन प्रहरीले सर्वसाधारणमा आग्रह गरेको छ।



प्रतिकृया दिनुहोस्