सिंहदरबारमा युवा जोस: कानुन मन्त्रालय सम्हाल्दै सोविता गौतमले देखाइन् परिपक्वता!
काठमाडौं, १३ चैत । नेपाली राजनीतिमा आशालाग्दो अनुहारको रूपमा उदाएकी युवा नेत्री सोविता गौतमले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी औपचारिक रूपमा सम्हालेकी छन्। बिहीबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्री गौतम सिधै सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेकी हुन्।
धेरैजसो मन्त्रीहरूले पदभार ग्रहणकै दिन ‘सस्तो लोकप्रियता’ का लागि हतार-हतार उकदुई वटा फाइलमा हस्ताक्षर गर्ने चलन छ। तर, अधिवक्ता समेत रहेकी नवनियुक्त मन्त्री गौतमले भने पहिलो दिनमै आफ्नो परिपक्वता र गम्भीरता प्रदर्शन गरेकी छन्।
उनले पदभार ग्रहणको क्रममा तत्कालै कुनै पनि निर्णयमा हस्ताक्षर गरिनन्। सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले भनिन्—
“म मन्त्रालयका वस्तुस्थिति बुझेर र आवश्यक सल्लाह गरेर मात्र अघि बढ्नेछु। ठोस निर्णय भएपछि मात्र तपाईंहरूलाई आधिकारिक जानकारी गराउनेछु।”
आशावादी जनता, उत्साहित युवा
कानुनको पृष्ठभूमिबाटै आएकी युवा मन्त्रीले न्याय प्रणालीमा सुधार ल्याउने र संसदीय मामिलालाई थप पारदर्शी बनाउने विश्वास गरिएको छ। उनको यो “हल्ला कम, काम धेरै” गर्ने शैलीलाई सामाजिक सञ्जालमा धेरैले ‘परिपक्व सुरुवात’ भन्दै प्रशंसा गरिरहेका छन्।
न्याय सम्पादनमा ढिलासुस्ती र जटिल कानुनका बीच सोविताको आगमनले आम सर्वसाधारणमा नयाँ उत्साह थपेको छ। अब उनले न्यायालय र संसदको सम्बन्धलाई कसरी अगाडि बढाउँछिन् भन्नेमा सबैको चासो केन्द्रित छ।



प्रतिकृया दिनुहोस्