अनुभव, संघर्ष र सेवाभावको प्रतीक : इक्यान उपाध्यक्ष पदका सशक्त प्रत्यासी बासुदेव दाहाल

अनुभव, संघर्ष र सेवाभावको प्रतीक : इक्यान उपाध्यक्ष पदका सशक्त प्रत्यासी बासुदेव दाहाल

काठमाडौँ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को २०औँ साधारणसभा भोली पुस २८ गते हुँदैछ। नयाँ नेतृत्व चयन हुने यस महत्वपूर्ण साधारणसभामा शैक्षिक परामर्श क्षेत्रमा लामो अनुभव, निष्ठा र सेवाभाव बोकेका बासुदेव दाहाल उपाध्यक्ष पदका सशक्त प्रत्यासीका रूपमा अघि बढ्नुभएको छ।

शिक्षा परामर्श क्षेत्रमै जीवन समर्पण गर्नुभएको दाहालको उम्मेदवारीलाई इक्यानभित्र संघर्ष, अनुभव र प्रतिबद्धताको भरोसायोग्य संयोजनका रूपमा हेरिएको छ।

सुनसरी जिल्लाको इनरुवा–६, मधेसा झकनझोराका स्थायी बासिन्दा दाहाल हाल काठमाडौँको बागबजारस्थित प्राञ्जल एजुकेशन कन्सल्टेन्सी सञ्चालन गर्दै आउनुभएको छ। उहाँको परामर्शमार्फत हालसम्म एक हजारभन्दा बढी विद्यार्थीले विशेषगरी अष्ट्रेलियालाई मुख्य गन्तव्य बनाएर वैदेशिक अध्ययनको अवसर प्राप्त गरिसकेका छन्।

शैक्षिक यात्रामा पनि दाहालको पृष्ठभूमि प्रेरणादायी छ। उहाँले जनता माध्यमिक विद्यालय, मधेसाबाट एसएलसी तथा महेन्द्र मोरङ क्याम्पस, विराटनगरबाट स्नातक अध्ययन पूरा गर्नुभएको हो। विद्यार्थी जीवनदेखि नै सामाजिक र राजनीतिक चेतनामा सक्रिय दाहाल सुरुमा नेकपा एमाले र पछि सशस्त्र द्वन्द्वकालमा माओवादी राजनीतिमा संलग्न हुनुभयो। संघर्षपूर्ण राजनीतिक यात्राकै क्रममा उहाँले जेल जीवनसमेत भोग्नुपरेको अनुभव सुनाउँदै आउनुभएको छ।

जेलमुक्तिपछि काठमाडौँ आएर दाहालले राजनीति सँगसँगै शिक्षा क्षेत्रमा आफूलाई समर्पित गर्नुभयो। उहाँको पेशागत यात्रा निजी विद्यालयमा शिक्षकको रूपमा सुरु भएको हो। ललितपुरलाई कर्मथलो बनाउँदै केही समय शिक्षण पेशामा बिताएपछि शैक्षिक परामर्श क्षेत्रको सम्भावना पहिचान गर्दै प्राञ्जल एजुकेशन कन्सल्टेन्सी स्थापना गर्नुभयो। पछिल्ला सात वर्षदेखि उक्त संस्थालाई पुतलीसडक हुँदै हाल बागबजारबाट सफलतापूर्वक सञ्चालन गर्दै आउनुभएको छ।

संस्थागत अनुभवका हिसाबले पनि दाहाल इक्यानभित्र अनुभवी र जिम्मेवार नेतृत्वका रूपमा परिचित छन्। अघिल्लो कार्यकालमा संघको सचिवको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएका उहाँ १९औँ साधारणसभामा महासचिव पदका प्रत्यासीसमेत हुनुहुन्थ्यो। यसपटक भने उपाध्यक्ष पदमा विजयी हुने उच्च आत्मविश्वास र स्पष्ट एजेन्डासहित चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ।

विगतमा जिम्मेवारीमा रहँदा व्यवसायीमैत्री, पारदर्शी र समन्वयकारी भूमिका खेलेका कारण दाहाल शैक्षिक परामर्श व्यवसायीबीच लोकप्रिय मानिन्छन्। परामर्श क्षेत्रका चुनौती, नियमन, व्यवसायीको हकहित र संस्थागत सुदृढीकरणका विषयमा उहाँको स्पष्ट दृष्टिकोण रहेको बताइन्छ।

उपाध्यक्ष पदका प्रत्यासी दाहालले शैक्षिक परामर्श व्यवसायको विकास, पारदर्शिता र व्यवसायीको सामूहिक हितका लागि आफ्नो सम्पूर्ण समय, अनुभव र क्षमता खर्चिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
इक्यानलाई अझ सशक्त, मर्यादित र विश्वासिलो संस्था बनाउनु मेरो मुख्य लक्ष्य हो,” उहाँको भनाइ छ।

दाहाल भन्नुहुन्छ—

“म शैक्षिक परामर्श कर्मी मात्र होइन, शैक्षिक परामर्श नै मेरो विगत, वर्तमान र भविष्य हो। इक्यानको ओझ बढाउनु मेरो कर्तव्य हो।”

उहाँले २०औँ साधारणसभामा सबै इक्यानियन अग्रज तथा साथीहरूसँग प्रत्यक्ष भेटघाट, सुझाव र मार्गनिर्देशनको अपेक्षा पनि गर्नुभएको छ।

संघर्षबाट खारिएको अनुभव, सेवाभावले निर्देशित सोच र संस्थाप्रतिको अटुट निष्ठाका आधारमा बासुदेव दाहालको उम्मेदवारी इक्यानको आगामी नेतृत्व चयनमा एक अर्थपूर्ण, भरोसायोग्य र सम्मानित विकल्पका रूपमा व्यापक रूपमा हेरिएको छ।