परिवर्तनको ९० दिनः युवा पुस्ताको साहस र सत्यको आवाज

परिवर्तनको ९० दिनः युवा पुस्ताको साहस र सत्यको आवाज

वि.सं.२०८२ साल भदौ २३ र २४- हामी जेन-जि पुस्ताका लागि यी साधारण मितिहरू होइनन्। ती दिनहरूबाट देशले युवाको पीडा सुनेको थियो, युवाको घाउ देखेको थियो, र युवाको साहसलाई मान्यता दिएको थियो। आज ९० दिन पूरा भयो र तीन महिनाको यो यात्रा केवल आन्दोलनको हिसाब होइन,एक पुस्ताको आत्मसम्मानको पुनःघोषणा हो।

ती दिन सडकमा उभिएका हामी-हामीसँग कुनै पार्टीको झण्डा थिएन, कुनै स्वार्थ थिएन,कुनै पदको भोक थिएन। हामीसँग एउटा कुरा मात्र थियो-सत्य बोल्ने हिम्मत। यही हिम्मतले सरकारले सुरक्षाकर्मी उतार्‍यो,तर आवाज दबाउन सकेन; दमन गर्‍यो, तर मन तोड्न सकेन; प्रचार गर्‍यो, तर जनताले हामीलाई बुझ्न छोडेन।

९० दिनमा यो आन्दोलनले देखायो-देशको भविष्य ‘अहंकारी कुर्सी’ ले होइन, ‘सचेत नागरिक’ ले निर्धारण गर्छ।
योजना कागजमा होइन, सडकमा उभिएका युवाको मुटुमा लेखिन्छ र परिवर्तन दया मागेर होइन,अधिकार मागेर ल्याइन्छ।

आज पनि प्रश्नहरू उठिरहेका छन्- किन नागरिकको आवाजलाई शत्रुजस्तै व्यवहार गरियो?किन शान्तिपूर्ण युवामाथि बल प्रयोग गरियो?किन हाम्रा युवालाई दमन गरि डर देखाइयो?किन हाम्रै कर तिरेर बनाएको स्टेट मेकानिजम युवामाथि नै उठाइयो?

यी प्रश्नहरू हावामा हराउँदैनन्-यी प्रणालीका ढोकामा बजिरहने घण्टी हुन्।

जेन–जि आन्दोलन केवल सडकको क्रन्दन होइन,एउटा राजनीतिक चेतना हो – जसले भन्छ, “सरकार जनता हुँदासम्म शक्तिशाली हुन्छ; जनता क्रोधित हुँदा कमजोर।”
जसले भन्छ, “देश व्यक्तिले होइन, मूल्यले चल्छ,विधि र थितिले चल्छ।”जसले भन्छ, “हामी चुप भएको दिन, लोकतन्त्र अपाङ्ग हुन्छ।”

यो ९० दिनमा हामीले देख्यौँ-युवा रोकिन्न;युवा डराउँदैन;
युवाले अन्याय देख्यो भने उठ्छ,बोल्छ र अर्को पुस्ताका लागि बाटो बनाइदिन्छ।

हामी कुन पार्टी,कुन विचार,कुन जातिबाट आएका हौँ-त्यो महत्त्वपूर्ण छैन।महत्त्वपूर्ण छ;हामी कुन भविष्य बनाउन चाहन्छौँ।र हामीले स्पष्ट भनिसक्यौँ-
भ्रष्टाचार होइन, पारदर्शिता।
दमन होइन, न्याय।
भय होइन, स्वतन्त्रता।
अहंकार होइन, जवाफदेहिता।

देशले दशकौँदेखि खोजेको नेतृत्व पुस्ता आज सडकमा उभिएको छ-यही पुस्ता पढ्छ, बुझ्छ, प्रश्न सोध्छ,गल्ती देख्छ, र परिवर्तनको माग गर्छ।यसैले जेन- जि आन्दोलन कुनै ९० दिनमा सकिने कथा होइन-यो त राज्यलाई सम्झाउने स्थायी पाठशाला हो कि जनताको आवाज सधैं ठूलो हुन्छ।

अन्त्यमा, एक जेन-जि अभियन्ताका नाताले म सजिलै भन्न सक्छु-हाम्रो पुस्तालाई न डरले हराउँछ, न दमनले रोक्छ, न झूटले हराउँछ।हामी सत्यका पक्षमा उभिएका छौँ
र सत्यको आवाज कहिल्यै थाक्दैन।

हामी उठेको ९० दिन भयो,
अब बदलियो देशको मुड,
र छिट्टै बदलिन्छ देशको दिशा।
किनकि-यो देश अब वास्तवमै युवाले लेख्दैछ।

( नोट : यो लेखका लेखक राजेन्द्र अधिकारी हाल गृह मन्त्रालय अन्तरगत जेन – जि प्रतिनिधिका रुपमा कार्यरत छन् ।) (श्रोत : राज कार्की संचालक सुट माला)