पर्यटन क्षेत्र २४ सै घण्टा खुला गर्नुपर्छ : एमाले उपाध्यक्ष पाण्डे
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न र यसलाई २४ सै घण्टा खुला राख्न जरुरी रहेको बताउनु भएको छ ।
शनिबार काठमाडौंमा अर्थतन्त्र डटकमको ‘अर्थतन्त्र दशक जर्नल’ सार्वजनिक तथा ‘पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
रात्रिकालीन पर्यटनमा अवरोध र यसको समाधान विषयमा बोल्दै पाण्डेले ठमेल, पोखरा, सौराहा लगायतका पर्यटकीय क्षेत्रहरू राति ९ बजेपछि बन्द गर्नुले पर्यटकहरूको आकर्षण घट्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “९ बजे होटल बन्द गर्छन्। ९ बजे सुत्नको लागि विदेशी त नेपाल आएको हुँदैनन्। सुत्न नपाएर नेपाल आएको पनि होइन। पुलिस जान्छ सेक्युरिटी छैन भन्छ। त्यो स्पेसल पुलिस राख्नुपर्छ। किन ९ बजे नै बन्द गर्ने?”
उहाँले पर्यटकहरू विदेशबाट राति ९ बजेदेखि सुत्नका लागि नआउने भन्दै, पर्यटकहरूका लागि पर्यटन क्षेत्रहरू २४ सै घण्टा खुला गर्नुपर्नेमा दिनुभयो । पर्यटनको आर्थिक महत्त्व र नयाँ सम्भावना विषयमा बोल्दै उपाध्यक्ष पाण्डेले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रलाई अघि बढाउने ठूलो पुलको काम गर्ने उल्लेख गर्नुभयो । “त्यसलाई विस्तार गर्नुपर्छ। मजदुरले काम पाउँछन्। व्यवसायीको बिक्री हुन्थ्यो, समग्र अर्थतन्त्रमा सहयोग पुग्छ,” उहाँले भन्नुभयो । पाण्डेले भारतबाट नेपालमा विवाह गर्न आउनेहरूको ठूलो सम्भावना रहेको बताउँदै त्यसका लागि व्यवस्थापन राम्रोसँग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।



प्रतिकृया दिनुहोस्