आकर्षक विदेशको प्रलोभनमा पार्ने गिरोह पर्दाफास! स्पेन, बेलायत र न्युजिल्याण्ड पठाउने नाममा लाखौँ ठगी गर्ने ४ जना पक्राउ
काठमाडौं, वैदेशिक रोजगारीको आकर्षक सपना देखाएर युवाहरूलाई प्रलोभनमा पार्ने र ठगी गर्ने एक गिरोह प्रहरीको फन्दामा परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले विभिन्न देश पठाइदिने बाहानामा रकम कुम्ल्याएर फरार भएका ४ जनालाई पक्राउ गरेको हो।
पीडितहरूको जाहेरी र उजुरीको आधारमा प्रहरीले अनुसन्धान तीव्र पार्दै उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। आरोपीहरूले युरोपेली तथा विकसित देशहरूको मोह देखाई सोझामाझा युवाहरूलाई फसाउने गरेका थिए। जसमा तारकेश्वर-५ बस्ने ३३ वर्षीय दिपेन्द्र दाहालले स्पेन पठाइदिने प्रलोभन देखाएर ३ जना पीडितबाट ३५ लाख ९४ हजार रूपैयाँ ठगी गरी सम्पर्कविहीन बनेका थिए भने उनलाई शुक्रबार काठमाडौं-१० बाट पक्राउ गरिएको हो।
त्यस्तै, रोल्पा घर भई काठमाडौं बस्ने ५० वर्षीय बिरसिंह बाठाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख ७८ हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ भने उनलाई सोमबार पक्राउ गरिएको छ। यसैगरी, बागलुङ घर भएका २६ वर्षीय युवराज रिजालले न्युजिल्याण्ड पठाइदिने भन्दै १ जनाबाट ४ लाख रूपैयाँ ठगी गरेको आरोपमा टोखाबाट नियन्त्रणमा लिइएको छ भने धादिङ घर भएका २७ वर्षीय रमेश दनैले रोमानिया पठाइदिन्छु भन्दै १ जनाबाट २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा शनिबार तार्केश्वरबाट पक्राउ परेका छन्।
पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल (काठमाडौं) पठाइएको प्रहरीले जनाएको छ।
वैदेशिक रोजगारीमा जाने क्रममा आधिकारिक म्यानपावर कम्पनी मात्रै रोज्नुहोस् र कुनै पनि गिरोह वा व्यक्तिलाई व्यक्तिगत रूपमा बिना रसिद ठूलो रकम नबुझाउनुहोस्।



प्रतिकृया दिनुहोस्