नक्कली सुनको खेल: १४ लाख ठगी गर्ने व्यक्ति होटलबाट पक्राउ

नक्कली सुनको खेल: १४ लाख ठगी गर्ने व्यक्ति होटलबाट पक्राउ

काठमाडौं, १२ चैत || काठमाडौंमा नक्कली सुन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। घटनाले राजधानीमा सक्रिय ठगी गिरोहप्रति चिन्ता बढाएको छ।

प्रहरीका अनुसार सिन्धुली हरिहरपुरगढी गाउँपालिका–७ घर भएका ३८ वर्षीय विजय लामा मोक्तान (धन बहादुर वाइबा) लाई पक्राउ गरिएको हो।

उनले सुनको बिस्कुटजस्तो देखिने नक्कली धातु देखाएर “अत्यन्तै आवश्यक परेको” भन्दै पीडितलाई फकाई १४ लाख रुपैयाँ ठगी गरेको खुलासा भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई टोखा नगरपालिका–९ शिवमन्दिरस्थित एक होटलबाट पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट ५४७ ग्राम ६९० मिलिग्राम तौलको सुनजस्तो देखिने धातु, ३ वटा मोबाइल, १ वटा सुनको मुन्द्रा लगायतका सामग्री बरामद गरेको जनाएको छ।

उनलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पछिल्लो समय नक्कली सुन देखाएर ठगी गर्ने घटना बढ्दै गएकाले यस्ता प्रलोभनमा नपर्न प्रहरीको आग्रह।