समयको मौनता:- शब्द रचना – परशुराम भट्ट

समयको मौनता:- शब्द रचना – परशुराम भट्ट

समयको बहावसँगै, मान्छेहरू टाढिदै छन्,
न्यानो सम्बन्धका हातहरू, बिस्तारै छुट्दै छन्।
हिजोका पलहरू सम्झँदा, आँखा रसाउँछ,
भिडमा पनि मन मेरो, एक्लै हराउँछ।

कोहि त आफ्नै धुनमा मग्न, कोहि स्वार्थमा रुमल्लिदै,
म त आफ्नै एकान्तमा, हराउँदै रमाउँदै।
कसैलाई दोष दिन्नँ म, न त गुनासो छ कसैसँग,
समयले सिकाएको यो पाठ, मान्दैछु अचेल म।

एक्लै रमाउन सिक्दै छु, आफ्नै मनको संसारमा,
बिर्सन खोज्दै छु विगतलाई, नयाँ उत्साहको आधारमा।
आँसुका थोपाहरू, लुकाउँदै मुस्कुराउँदै,
समयको मौनतामा, म बिस्तारै अघि बढ्दै।

भुल्नु रहेछ नियती, छुट्नु रहेछ चलन,
यस्तै रहेछ दुनियाँ, बुझ्दैछ मेरो यो मन।
गुनासो छैन कसैसँग, न त छ कुनै आशा,
बुझिसकें मैले यहाँ, स्वार्थको यो परिभाषा।

मुस्कान भित्र लुकेका, ती पीडा र व्यथा,
बुझ्नेले त बुझ्थे होलान्, तर को छ र यहाँ?
म त आफ्नै तालमा, बिस्तारै अघि बढ्दै छु,
हो, म अब एक्लै हाँस्न र एक्लै रमाउन सिक्दै छु!!