सुरक्षा सतर्कता हाई अलर्टमा! निर्वाचन लक्षित गर्दै कडा प्रहरी रणनीति
काठमाडौं, १ फागुन || दान बहादुर कार्कीले आसन्न निर्वाचनलाई लक्षित गर्दै देशभर सुरक्षा संयन्त्रलाई हाई अलर्टमा राख्न निर्देशन दिनुभएको छ। उहाँले सुरक्षा संवेदनशीलताको सूक्ष्म विश्लेषण गर्दै प्रभावकारी प्रहरी परिचालन गर्न कडा निर्देशन दिनुभएको हो।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत देशभरका प्रहरी अधिकृतहरूलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले निर्वाचनलाई “राष्ट्रिय संकल्प” का रूपमा लिन आग्रह गर्नुभयो। उहाँले भयरहित, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गराउन सशक्त सुरक्षा योजना लागू गर्नुपर्नेमा जोड दिनुभयो।
आचारसंहिता उल्लङ्घन गर्नेहरू कारबाहीमा
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने, अवाञ्छित गतिविधिमा संलग्न हुने तथा शान्ति भंग गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट सन्देश दिइएको छ। सूचना संकलनलाई उच्च प्राथमिकता दिँदै भरपर्दो सुरक्षा संयन्त्र परिचालन गर्न निर्देशन दिइएको छ।
सीमा नाकादेखि संयुक्त परिचालनसम्म कडा निगरानी
सीमा क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, फरार प्रतिवादी पक्राउ र हातहतियार बरामदमा विशेष योजना लागू गरिनेछ। अन्य सुरक्षा निकायसँग निरन्तर समन्वय गरी संयुक्त परिचालनलाई थप प्रभावकारी बनाइने जनाइएको छ।
निर्वाचन प्रहरीलाई विशेष ध्यान
निर्वाचनमा खटिने प्रहरी कर्मचारीहरूको व्यवस्थापन, गुनासो सम्बोधन तथा उच्च व्यावसायिकता प्रदर्शन गर्न विशेष निर्देशन दिइएको छ। तटस्थ, इमानदार र प्रतिबद्ध भई जिम्मेवारी निर्वाह गर्न महानिरीक्षक कार्कीले आग्रह गर्नुभयो।
कार्यक्रममा सातै प्रदेश प्रहरी कार्यालय प्रमुखहरूसँग शान्ति सुरक्षा अवस्था र निर्वाचन तयारीबारे छलफल गरिएको थियो। देशभरका प्रहरी इकाइहरूको भर्चुअल सहभागितासहित सुरक्षा रणनीतिलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै सुरक्षा संयन्त्र सशक्त र सतर्क अवस्थामा — शान्ति सुव्यवस्था कायम राख्न प्रहरीको तयारी तीव्र!



प्रतिकृया दिनुहोस्