“स्थानीय सीप हस्तान्तरण र एमएसएमई मार्फत निर्यात सम्भावनायुक्त फ्रुट क्यान्डीबाट स्थानीय स्तरमा राेजगारी सिर्जना सम्भब”
काठमाण्डौँ ! स्थानीय सीप हस्तान्तरण र एमएसएमई सुदृढीकरणमार्फत फ्रुट क्यान्डीको निर्यात सम्भावनामा निक्कीको जोड
काठमाडौं । नेपाल–भारत वाणिज्य तथा उद्योग संघ (निक्की)ले आफ्नो नयाँ अनुसन्धान “नेपालको फ्रुट क्यान्डी (तितौरा) उत्पादन–स्थानीय सीप हस्तान्तरण र निर्यात सम्भावना” को प्रमुख निष्कर्ष सार्वजनिक गर्दै निर्यात वृद्धिलाई अघि बढाउन तथा नेपालको कृषि–प्रशोधन क्षेत्रमा मूल्य अभिवृद्धि गर्न स्वदेशी लघु, साना तथा मझौला उद्यम (एमएसएमई)का क्षमता उपयोग गर्नु रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरेको छ।
अध्ययनले परम्परागत नेपाली तितौरा फ्रुट क्यान्डीलाई यसको सांस्कृतिक विशिष्टता र अन्तर्राष्ट्रिय बजारमा बढ्दो मागका कारण प्रतिस्पर्धी निर्यातयोग्य वस्तुको रूपमा औंल्याएको छ। विस्तृत क्षेत्रीय अध्ययन र सरोकारवाला परामर्शमार्फत लक्षित सीप हस्तान्तरण, क्षमता विकास तथा गुणस्तर सुधारले अन्तर्राष्ट्रिय खाद्य सुरक्षाका मापदण्ड र बजार अपेक्षाहरू पूरा गर्न उत्पादन स्तर उकास्न सक्ने पनि निक्कीले जनाएको छ।
प्रतिवेदनले फ्रुट क्यान्डीलाई निर्यातयोग्य वस्तु बनाउन स्थानीय सीप सुदृढीकरण, एमएसएमई सशक्तीकरण तथा नीतिगत र संस्थागत सहयोग आवश्यक रहेको सुझाव दिएको छ।
“उत्पादनको मौलिकता जोगाउँदै कारीगरहरूको सीपलाई ठूलो परिमाणमा उत्पादन गर्न सकिने प्रविधिमा रूपान्तरण गर्ने महत्वपूर्ण अवसरहरू छन्, जसले निर्यात मापदण्डअनुसार स्थिरता र अनुपालन सुनिश्चित गर्न मद्दत गर्छ,” निक्कीका अध्यक्ष सुनील केसीले बताए।
यसैगरी, अध्ययनले स्थानीय एमएसएमईहरूलाई आफ्नो सञ्चालन प्रणाली सुधार गर्न, औपचारिक बजार पहुँच विस्तार गर्न तथा विशेषगरी भारत र क्षेत्रीय साझेदारहरूसँग सीमापार मूल्य श्रृंखलामा समावेश हुने ठूलो सम्भावना रहेको देखाएको छ। तर यसका लागि नीतिगत तथा संस्थागत सहयोग निर्णायक हुने पनि अध्यक्ष केसीले जोड दिए।
अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, नेपाल विश्वविद्यालयका कुलपति डा बिन्दु लोहनी, भारतीय दूतावासका उप–नियोग प्रमुख डा राकेश पाण्डे तथा निक्कीका अध्यक्ष केसीद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा निक्कीले नीति निर्माता, सरोकारवाला तथा विकास साझेदारहरूलाई तालिम कार्यक्रम, गुणस्तर प्रमाणीकरण प्रक्रिया र वित्तीय पहुँचजस्ता सहयोग संयन्त्रलाई प्राथमिकता दिन आग्रह गरेको छ। जसले एमएसएमईहरूलाई नेपालको विशिष्टीकृत कृषि सम्पदालाई आर्थिक वृद्धिका लागि उपयोग गर्न सक्षम बनाउनेछ।
“यो प्रकाशनले सीप विकास र बजार पहुँच रणनीतिसँग जोडिँदा नेपालको सांस्कृतिक र कृषि सम्पदाले अर्थपूर्ण निर्यात अवसर र दिगो रोजगारी सिर्जना गर्न सक्ने हाम्रो विश्वासलाई थप मजबुत बनाएको छ,” अध्ययनमा उल्लेख गरिएको छ। “हाम्रा सिफारिसहरू स्थानीय उद्यमशील क्षमतालाई क्षेत्रीय तथा विश्वव्यापी बजार अवसरसँग जोड्ने उद्देश्यले तयार गरिएका हुन्।”
एशियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्स (आइडा)का अनुसन्धान निर्देशक कुबेर चालिसे तथा कार्यक्रम निर्देशक एवं अनुसन्धानकर्ता सजिना राईद्वारा गरिएको अध्ययनले उत्पादनलाई निर्यात मापदण्डअनुसार समायोजन गर्न, निजी क्षेत्र र सरकारी संस्थाबीच साझेदारी प्रवद्र्धन गर्न, तथा एमएसएमईहरूलाई विस्तारका लागि आवश्यक प्राविधिक सीप र व्यावसायिक सञ्जाल बनाउन कार्यान्वयनयोग्य सिफारिसहरू पनि प्रस्तुत गरेको छ।
निक्कीले क्षेत्रगत विकास र निर्यात विविधीकरणबारे संवाद प्रवद्र्धन गर्न प्रतिवेदनका पूर्ण निष्कर्षहरू सरकारी निकाय, द्विपक्षीय व्यापार साझेदार, एमएसएमई सञ्जाल तथा सम्बन्धित उद्योग मञ्चहरूमा साझा गर्ने जनाएको छ।
निक्की बारे
नेपाल–भारत वाणिज्य तथा उद्योग संघ (निक्की) नेपाल र भारतबीच व्यापार, लगानी, नवप्रवर्तन तथा सीमापार आर्थिक सहकार्य प्रवद्र्धन गर्न प्रतिबद्ध एक अग्रणी द्विराष्ट्रिय संघ हो। अनुसन्धान प्रकाशन, नीतिगत पैरवी तथा सहकार्यमार्फत निक्कीले व्यवसायिक वृद्धि, एमएसएमई सशक्तीकरण र दिगो आर्थिक एकीकरणलाई सहयोग पु¥याउँदै आएको छ।


प्रतिकृया दिनुहोस्