३५ बुँदे श्वेतपत्र जारी गर्दै युवा परिषद्को उपाध्यक्षबाट सुरेन्द्र बस्नेत बिदा

३५ बुँदे श्वेतपत्र जारी गर्दै युवा परिषद्को उपाध्यक्षबाट सुरेन्द्र बस्नेत बिदा

चार प्रधानमन्त्री फेरिँदा पनि पूरा कार्यकाल, “सीमित स्रोतमा पनि युवाका लागि अधिकतम गरियो”

काठमाडौं, २० पुस — राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले चार वर्षे कार्यकाल पूरा गर्दै आइतबार पदबाट औपचारिक रूपमा बिदा लिएका छन् । बिदाइको अघिल्लो क्षणमै उनले ३५ बुँदे श्वेतपत्र सार्वजनिक गर्दै आफ्नो कार्यकाललाई उपलब्धि र सुझावले भरिएको दस्तावेजका रूपमा प्रस्तुत गरेका छन् ।

२०७८ पुस २१ गते तत्कालीन मन्त्रिपरिषद्को निर्णयबाट परिषद्को कार्यकारी प्रमुख बनेका बस्नेतलाई आज युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्रालयमा आयोजित कार्यक्रममा बिदाइ गरेका हुन् । परिषद् कार्यालयमा समेत छुट्टै बिदाइ कार्यक्रम आयोजना गरिएको थियो ।

पत्रकार सम्मेलनमै श्वेतपत्र सार्वजनिक

बिदाइअघि परिषद् परिसरमा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले भने,

“स्रोत र साधन सीमित थिए, तर युवाको पक्षमा अधिकतम प्रयास गर्न कुनै कसर बाँकी राखिनँ।”

उनले चार प्रधानमन्त्री र पाँच जना युवा तथा खेलकुदमन्त्री फेरिँदा पनि पूरा कार्यकाल काम गर्न पाउनु ‘दुर्लभ अनुभव’ भएको बताए ।

के–के समेटियो ३५ बुँदे श्वेतपत्रमा ?

बस्नेतको श्वेतपत्रमा नीति निर्माणदेखि सीप विकास, उद्यमशीलता, नेतृत्व, समावेशिता र अन्तर्राष्ट्रिय पहिचान सम्मका कामहरू समेटिएका छन् ।

राष्ट्रिय युवा नीति २०८२ जारी
१० हजारभन्दा बढी युवालाई नमुना संसद अभ्यास
३९० घण्टे निःशुल्क रोजगारमूलक सिप तालिम
विना धितो–विना ब्याज १९ करोड कर्जा असुली
नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास (MUN)
युवा वैज्ञानिक सम्मेलन, उद्यमशीलता सम्मेलन, युवा सञ्जालहरू
दलित, अल्पसंख्यक, अपाङ्गता भएका, LGBTIQ+, रिटर्नी युवा लक्षित कार्यक्रम

श्वेतपत्रमा परिषद्ले पछिल्ला चार वर्षमा गरेका गतिविधि समेटिएको २४४ पृष्ठको ‘युवा तस्वीर दर्पण’ समेत प्रकाशन गरिएको उल्लेख छ ।

युवालाई ‘भोलिको नेता’ मात्रै हैन, ‘आजको साझेदार’

बस्नेतले श्वेतपत्रमा उल्लेख गरेका छन्—

“नेपाली युवालाई भविष्यको कर्णधार मात्र हैन, वर्तमानको साझेदार बनाउने लक्ष्यसहित काम गरियो।”

सरकारलाई ५ ठूला सुझाव

बिदाइसँगै बस्नेतले सरकारलाई स्पष्ट सुझाव पनि दिएका छन्—

Youth Vision–2035 तुरुन्त जारी गर्न
७५३ वटै पालिकामा स्थानीय युवा परिषद गठन गर्न
राष्ट्रिय युवा परिषद ऐन संशोधन गर्न
परिषद्को आफ्नै स्थायी दरबन्दी र कोष सुनिश्चित गर्न
सबै युवा स्टार्टअप कार्यक्रम एकीकृत गर्न


चार वर्षे कार्यकालको अन्त्यमा श्वेतपत्रमार्फत हिसाब–किताब पेश गर्दै बिदा भएका बस्नेतको यो कदमलाई कतिपयले ‘युवा एजेन्डाको रोडम्याप’ भनेका छन् भने कतिपयले ‘राजनीतिक उत्तरदायित्वको उदाहरण’ का रूपमा लिएका छन् ।