संयुक्त बैठकपछि ‘निर्वाचनको वातावरण झन् बलियो’: सञ्चारमन्त्री खरेलको ठोस् घोषणा

संयुक्त बैठकपछि ‘निर्वाचनको वातावरण झन् बलियो’: सञ्चारमन्त्री खरेलको ठोस् घोषणा

काठमाडौँ, १९ मङ्सिर। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आज बसेको सरकार, प्रमुख राजनीतिक दल, निर्वाचन आयोग र चारै सुरक्षा निकाय प्रमुखहरूको संयुक्त बैठकलाई “ऐतिहासिक र उपलब्धिमूलक” भन्दै सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले निर्वाचनको वातावरण झन् मजबुत बनेको घोषणा गरेका छन्।

बैठकपछि सञ्चारकर्मीलाई ब्रिफिङ दिँदै मन्त्री खरेलले भने—
“संयुक्त बैठकपछि निर्वाचनमा जाने बाटो अझै स्पष्ट, बलियो र सुनिश्चित भएको छ। स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण निर्माण अब ठोस चरणमा पुगेको छ।”

पहिलोपटक सबै सरोकारवाला एकै थलोमा

यसअघि दुई–पक्षीय वा त्रिपक्षीय रूपमा हुँदै आएको बैठक यस्तो व्यापक र सबै सरोकारवालासहित पहिलोपटक भएको मन्त्री खरेलको दाबी।
उनका अनुसार यसले देशभर ‘निर्वाचनमैत्री माहोल’ निर्माण भएको छ।

सुरक्षा योजना, रणनीति र फेक न्यूजबारे खुला छलफल

मन्त्री खरेलले महत्वपूर्ण बुँदाहरू सार्वजनिक गर्दै भने—

  • संयुक्त सुरक्षा कार्ययोजना कार्यान्वयनमा

  • संभावित जोखिम, प्राविधिक चुनौती र व्यवस्थापनबारे गहन छलफल

  • फेक न्यूज, मिसइन्फर्मेशन, डिसइन्फर्मेशन विरुद्ध कडाइका उपाय

  • सुरक्षा निकाय ‘पूर्ण तयारीमा’ रहेको आश्वासन

उनले थपे, “केही दलले सुरक्षा व्यवस्थाबारे चासो व्यक्त गरेका छन्, सरकार त्यसप्रति पूर्ण रूपमा सचेत र प्रतिबद्ध छ।”

‘जनता उत्साहित, दलहरू चुनावी मोडमा’

सरकारले निरन्तर संवाद गरिरहेको बताउँदै मन्त्री खरेलले हालसम्मको वातावरण सकारात्मक रहेको बताए।
“राजनीतिक दलहरू पनि चुनावी माहोल बनाउन केन्द्रित छन्, जनता उत्साहित छन्,” उनले भने।

जेनजी आन्दोलनका परिवारलाई प्राथमिकता

सरकार प्रवक्ताका हैसियतले मन्त्री खरेलले जेनजी आन्दोलनका सहिद, घाइते र प्रभावित परिवारका सरोकारलाई विशेष प्राथमिकता दिइएको जानकारी दिए।

प्रधानमन्त्री कार्कीको स्पष्ट सन्देश

बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई राजनीतिक दलहरूलाई स्थिर र संस्थागत बनाउने प्रमुख आधार भन्दै सबै पक्षको साझा इच्छाशक्ति अनिवार्य रहेको बताइन्।
उनका अनुसार, “आजको छलफल नै चुनावी वातावरण निर्माणतर्फ ठूलो उपलब्धि हो।”

उच्च–स्तरीय उपस्थिति

बैठकमा प्रधानमन्त्रीसँगै—

  • अर्थमन्त्री रामेश्वर खनाल

  • गृहमन्त्री ओमप्रकाश अर्याल

  • सञ्चारमन्त्री जगदीश खरेल

  • कानुनमन्त्री अनिलकुमार सिह्ना

  • निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित सबै आयुक्त

  • चारवटै सुरक्षा निकायका प्रमुख
    उपस्थित थिए।

त्यसैगरी प्रमुख राजनीतिक दल—
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, रास्वपा, राप्रपा, जसपा र जनमत पार्टीका शीर्ष नेताहरू पनि सहभागी थिए।