नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी सञ्चालक – अमृत मान श्रेष्ठ
काठमाण्डौँ- ४ मंसिर २०८२, बिहिवार ||ठाँटी खबर||
मन्त्रिपरिषद्को मंसिर २ गतेको निर्णयअनुसार निगमका सञ्चालक समितिका सदस्य श्री अमृत मान श्रेष्ठ आज (मिति २०८२/८/४) देखि कार्यकारी सञ्चालक (Acting CEO) का रूपमा पदबहाली गर्दै औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्।
पदबहाली समारोहमा उपस्थित निगमका कर्मचारीहरूले श्रेष्ठलाई हार्दिक शुभकामना तथा सफल कार्यकालको कामना व्यक्त गरे। पदबहाली पछि उनले तत्क्षण कार्यकारी समितिको बैठक आह्वान गर्दै विभागीय प्रमुखबाट निगमको समग्र अवस्थाबारे विस्तृत जानकारी लिएका छन्।
तत्कालीन प्राथमिकता: इन्जिन फिर्ता–निगमको जहाज उडान तयारी तीव्र
बैठकमा सम्बोधन गर्दै कार्यकारी सञ्चालक श्रेष्ठले इजरायलको IAI मा मर्मतका लागि पठाइएको निगमको इन्जिन पुनः आफ्नो जहाजमा जडान गर्ने र हाल लिजमा लिइएको इन्जिन फिर्ता गर्ने कार्यलाई तात्कालै टुङ्ग्याउने अभियान सुरु भइसकेको जानकारी दिए।
उक्त कार्यलाई छिटो, प्रभावकारी र पारदर्शी तरिकाले सम्पन्न गर्न उनले सम्बन्धित विभागलाई कडाइका साथ निर्देशनसमेत दिएका छन्।
नेपाल वायुसेवा निगममा लामो समयदेखि देखिएको प्राविधिक, व्यवस्थापकीय र आर्थिक चुनौतीबीच नेतृत्वमा आएको यो परिवर्तनले संस्थालाई ‘नयाँ ऊर्जा’ दिने अपेक्षा गरिएको छ।
कर्मचारीदेखि यात्रुसम्म सबैको नजर अब श्रेष्ठको रणनीति र कार्यगत परिणाममा केन्द्रित हुनेछ।
प्रवक्ता: अनिल घिमिरे
नेपाल वायुसेवा निगम



प्रतिकृया दिनुहोस्