खनालको खुला सन्देश — “एमालेमा फर्कन आपत्ति छैन, तर ढोका राम्रोसँग खुल्नुपर्छ”

खनालको खुला सन्देश — “एमालेमा फर्कन आपत्ति छैन, तर ढोका राम्रोसँग खुल्नुपर्छ”

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पुनः एमालेमा फर्कने सम्भावना खुला राख्दै अहिलेको राजनीतिक वृत्तमा ठूलो हलचल मच्चाएका छन्। शनिबार काठमाडौंमा आफू निकट नेताहरूको भेलामा बोल्दै उनले “पार्टीलाई पुनर्गठन गरेर एकीकृत बनाइने” बताएका हुन्।

खनालले अहिलेको बाम आन्दोलनलाई “टुक्राटुक्रा” भएको भन्दै त्यसलाई फेरि एक ठाउँमा ल्याउनुपर्ने आवश्यकता औंल्याए। तर, उनले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ इङ्गित गर्दै भने —

“केपी ओलीले घर फर्क भन्नु मात्र हुँदैन, फर्किने ढोका राम्रोसँग खोलिनुपर्छ र बस्ने ठाउँ पनि राम्रो बनाउनुपर्छ।”

उनको यो भनाइले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ। धेरैले यसलाई एमाले–समाजवादी एकताको सम्भावनासँग जोडेर हेरेका छन्।

खनालले थपे, “कम्युनिस्ट आन्दोलनलाई व्यापक एकतामा लैजान अब ढिलाइ गर्न मिल्दैन। व्यक्तिगत स्वार्थ होइन, राष्ट्रिय र जनताको हितका लागि हामी सबै एक हुनुपर्छ।”