देशभर पाँचजना लागूऔषधसहित पक्राउ

देशभर पाँचजना लागूऔषधसहित पक्राउ

काठमाडौं, ९ कात्तिक

देशका विभिन्न स्थानमा प्रहरीले अवैध लागूऔषधसहित पाँचजना व्यक्तिलाई पक्राउ गरेको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट प्रहरीले खैरो हेरोइन जस्तो देखिने ९ ग्राम ५८० मिलिग्राम पदार्थसहित चितवनका २७ वर्षीय लव ठकुरीलाई शनिबार साँझ पक्राउ गरेको हो।
प्रहरीले वीरगंजबाट काठमाडौं आउँदै गरेको बा.प्र.०३–००१ ज ५१३ नम्बरको ईभी गाडीमा सवार अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो।

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–६ बनगाउँ बैजनाथ टोलबाट ४१० मिलिग्राम खैरो हेरोइनसहित २६ वर्षीय रमेश थापा पक्राउ परेका छन्।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारमा प्रहरीले नियन्त्रित लागूऔषध डाईजेपाम, फेनारगन र बुप्रेनोर्फिन ७–७ एम्पुलसहितशुक्लागण्डकी–९ का २५ वर्षीय सागर क्षेत्रीलाई आइतबार बिहान नियन्त्रणमा लिएको छ।

त्यसैगरी मोरङको विराटनगर महानगरपालिका–१७ बाट भारतको अररिया फारविसगञ्जका २४ वर्षीय अलताव शेखलाई ११० मिलिग्राम हेरोइनसहित,
कैलालीको मोहन्याल गाउँपालिका–७ पितमारीबाट लम्कीचुहा–३ का २६ वर्षीय गोविन्द बिष्टलाई ७१० मिलिग्राम हेरोइनसहित शनिबार राति पक्राउ गरिएको हो।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।