आगजनी र लुटपाटपछि दमक भाटभटेनीको सानदार पुनरागमन: अहोरात्र खटिने श्रमिक र कर्मचारीलाई ऐतिहासिक सम्मान

आगजनी र लुटपाटपछि दमक भाटभटेनीको सानदार पुनरागमन: अहोरात्र खटिने श्रमिक र कर्मचारीलाई ऐतिहासिक सम्मान

ठाँटी खबर || झापा/दमक। अदम्य साहस, अनवरत मिहिनेत र अहोरात्रको परिश्रमपछि दमकस्थित भाटभटेनी सुपरमार्केट पुनः आफ्नो पुरानै गरिमा र भव्यताका साथ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। केही समयअघिको आन्दोलनका क्रममा भएको अप्रत्याशित आगजनी र लुटपाटबाट ठूलो क्षति व्यहोरेको यस सुपरमार्केटले छोटो समयमै पुनर्निर्माण पूरा गर्दै भव्य रूपमा गृहप्रवेश पूजा सम्पन्न गरेको छ। खरानीबाट पुनः ब्युँतिएझैँ जगैदेखि उठेको यस भवनको पुनर्जन्मले दमकवासीमाझ एकातिर उत्साह थपेको छ भने अर्कोतिर संस्थाको दृढ संकल्प र गतिशीलताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

गृहप्रवेश पूजाको पावन तथा ऐतिहासिक अवसर पारेर भाटभटेनी व्यवस्थापनले पुनर्निर्माणलाई तीव्रता दिई सफल बनाउने वास्तविक नायकहरूलाई दिल खोलेर सम्मान गरेको छ। संस्थाकी सञ्चालिका सावित्री घले गुरुङले दिनरात नभनी अहोरात्र खटिने सम्पूर्ण इन्जिनियरिङ टिम, प्राविधिक, कर्मचारी तथा मजदुर साथीहरूलाई खादा र कदरपत्रसहित विशेष सम्मान तथा अभिनन्दन गर्नुभयो। विपत्तिको घडीमा अहोरात्र खटिएर इँटा-इँटा जोड्ने श्रमिकहरूको मिहिनेतकै कारण आज सुपरमार्केट पुनः आफ्नै लयमा फर्कन सफल भएको भन्दै कार्यक्रममा उपस्थित सबैले उनीहरूको श्रमको उच्च प्रशंसा गरेका थिए।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङको मुख्य दर्शन नै “श्रमको सम्मान र श्रमिकको इज्जत” हो। श्रमिकको योगदानलाई सही रूपमा चिन्नु र उनीहरूको अहोरात्रको मेहनतको कदर गर्नु नै कुनै पनि संस्था र समाजलाई उचाइमा पुर्‍याउने असल संस्कार हो भन्ने उहाँको भावनालाई भाटभटेनी परिवारले सधैँ आत्मसात् गर्दै आएको छ। सोही महान् विचार र संस्कारलाई व्यवहारमा उतार्दै दमक भाटभटेनीले संकटको समयमा काँधमा काँध मिलाएर खटिएका प्रत्येक श्रमिकलाई सम्मानको उच्च स्थानमा राखेर कृतज्ञता व्यक्त गरेको छ।

कुनै पनि ठूलो चुनौती वा विपत्तिले कर्मशील हातहरूलाई रोक्न सक्दैन भन्ने बलियो प्रमाण दमक भाटभटेनीको यो पुनरुत्थानले दिएको छ। श्रमिकहरूको निष्ठा, प्राविधिकहरूको दक्षता र व्यवस्थापनको दृढ इच्छाशक्तिको जगमा उभिएको यो पुनर्निर्माण केवल एउटा भवनको मर्मत मात्र नभई विश्वास, आशा र सहकार्यको नयाँ अध्याय हो। श्रमको सम्मान गर्ने यो उच्च संस्कारले समस्त उद्योग तथा व्यावसायिक क्षेत्रलाई नयाँ दिशा निर्देश गरेको छ।(समाचार तथा फोटो स्रोत: बिनोद भट्टराई)