गोरखा बाढी अपडेट: २६ घर ध्वस्त, ५ बेपत्ता, ४८ को उद्धार, उद्धारमा खटियो विशेष प्रहरी टोली!

गोरखा बाढी अपडेट: २६ घर ध्वस्त, ५ बेपत्ता, ४८ को उद्धार, उद्धारमा खटियो विशेष प्रहरी टोली!

गोरखा, गोरखाको चुमनुव्री गाउँपालिकामा बुढीगण्डकी नदी थुनिएर आएको लेदोसहितको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। लोक्पादेखि चुम्लिङको बीचमा गएको विशाल पहिरोका कारण नदी अवरुद्ध हुँदा आएको यस विपद्ले स्थानीय बासिन्दाहरूलाई त्रसित बनाएको छ।

यस दुःखद घटनामा परेर ५ जना स्थानीय बासिन्दाहरू बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा ६५ वर्षीय सोनाम लामा, ६० वर्षीया लाप्पा ठोर्मा लामा, ६८ वर्षीय कर्मा लामा, ६० वर्षीया सोम्बुती लामा र ४१ वर्षीय तेन दोर्जे लामा रहेका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकायले तिब्रता दिएको छ।

बाढी प्रभावित क्षेत्रबाट सुरक्षाकर्मीहरूले हालसम्म ४८ जनाको सकुशल उद्धार गर्न सफल भएका छन्। प्रभावित क्षेत्रमा नागरिकहरूको जीवनरक्षा र सुरक्षित स्थानान्तरणलाई पहिलो प्राथमिकतामा राखिएको छ।

विपद्का कारण ठूलो परिमाणमा भौतिक संरचनाहरू नष्ट भएका छन्। प्राप्त विवरण अनुसार २६ वटा घर, ९ वटा गोठ, ४ वटा पुल र १ वटा सरकारी कार्यालयमा बाढीले पूर्ण तथा आंशिक क्षति पुर्याएको छ।
उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन प्रभावित क्षेत्रमा १ सय ४३ जना प्रहरी कर्मचारीहरू खटाइएको छ। साथै, सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै सामाखुशीस्थित विपद् प्रतिकार्य तथा तालिम केन्द्रबाट ५० जनाको विशेष जनशक्तिलाई जुनसुकै बेला परिचालन हुन सक्ने गरी तयारी अवस्थामा राखिएको छ।

स्थानीय प्रशासन तथा नेपाल प्रहरीले बुढीगण्डकी नदीका तटीय क्षेत्रका बासिन्दाहरूलाई नदी किनार र जोखिमयुक्त बस्तीबाट टाढा सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेका छन्। साथै, जोखिमपूर्ण पुल तथा सडकहरूबाट आवतजावत नगर्न र सुरक्षा निकायका निर्देशनहरू कडाइका साथ पालना गर्न विशेष अपिल गरिएको छ।