ढुक्क भएर चाडपर्व मनाउनुहोस्! नेपाल प्रहरीद्वारा ५० हजार बढी सुरक्षाकर्मी परिचालन, प्रविधिमा आधारित विशेष सुरक्षा योजना लागू

ढुक्क भएर चाडपर्व मनाउनुहोस्! नेपाल प्रहरीद्वारा ५० हजार बढी सुरक्षाकर्मी परिचालन, प्रविधिमा आधारित विशेष सुरक्षा योजना लागू

काठमाडौं, महान् चाड बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशैभर कडा तथा प्रभावकारी चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३ लागू गरेको छ। चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि, ठगी, चोरी, लुटपाट र सुरक्षा चुनौतीलाई पूर्ण रूपमा नियन्त्रण गर्न नेपाल प्रहरीले अत्याधुनिक प्रविधि र सुरक्षा जनशक्तिलाई मैदानमा उतारेको छ।

चाडपर्वको सुरक्षालाई मजबुद बनाउन काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीसहित ७ वटै प्रदेश प्रहरी कार्यालयबाट ५० हजार ४ सय ५८ जना सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक (DIG) अबि नारायण काफ्लेका अनुसार यस पटक परम्परागत शैलीभन्दा बाहिर ψर प्रविधिमा आधारित सुरक्षा निगरानीलाई विशेष प्राथमिकता दिइएको छ।

चाडपर्वको समयमा हुने डिजिटल ठगी, अनलाइन बेटिङ, नक्कली नोट, तथा OTP/Password मागेर हुने फिसिङ जस्ता साइबर अपराध नियन्त्रणमा विशेष निगरानी राखिनेछ। सुरक्षा व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन सिसिटिभि क्यामेरा, Body-Worn Camera, ड्रोन, तालिमप्राप्त कुकुर तथा पुलिस कन्ट्रोल सिस्टममार्फत Real-Time सूचना आदानप्रदान गरी प्रहरी परिचालन गरिनेछ।

लामो दूरीका यात्रुहरूको सहजता र सुरक्षाका लागि देशभर ४ सय ८ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। उपत्यकाबाट बाहिरिने सवारी साधनहरूको अनिवार्य रूपमा मेकानिकल टेस्ट, दुई जना चालकको व्यवस्था, क्षमताभन्दा बढी यात्रु राखे/नराखेको तथा मादक पदार्थ सेवन ( मापसे) जाँच कडा पारिएको छ। सीमानाकाहरूमा पनि छुट्टै हेल्प डेस्क स्थापना गरी सुरक्षा जाँच तीव्र पारिएको छ।

नेपाल प्रहरीले चाडपर्वलाई सुरक्षित र हर्षोल्लासपूर्वक मनाउन आम नागरिकहरूलाई विशेष आग्रह गरेको छ:

* लामो समय घर छाड्दा झ्यालढोका राम्ररी बन्द गर्न र घर खाली रहेको कुरा सामाजिक सञ्जालमा सार्वजनिक नगर्न।
* अपपरिचित व्यक्तिले दिएको खानेकुरा नखान तथा भीडभाडमा नगद र गरगहनाको विशेष ख्याल गर्न।
* अनलाइन सपिङका नाममा आउने शंकास्पद लिंक, QR Code, Lottery वा अस्वाभाविक अफरको विश्वास नगर्न।
* कुनै पनि शंकास्पद वा आपराधिक गतिविधि देखिएमा तत्काल नजिकैको प्रहरी कार्यालय वा १०० मा खबर गर्न।

“ढुक्क भएर चाडपर्व मनाउनुहोस्, नागरिकको सुरक्षा र शान्तिका लागि नेपाल प्रहरी सदैव तपाईहरूको साथमा छ।”