इटाली, कोरिया र स्विडेन पठाइदिन्छु भन्दै करोडौँ ठग्ने ४ ठग गिरोह पक्राउ

इटाली, कोरिया र स्विडेन पठाइदिन्छु भन्दै करोडौँ ठग्ने ४ ठग गिरोह पक्राउ

काठमाडौं, वैदेशिक रोजगारीको आकर्षक सपना देखाएर सोझासाझा नागरिकलाई ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। युरोप तथा एसियाका विभिन्न देशहरूमा पठाइदिने भन्दै लाखौँ रकम असुल गरी फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर घर भई कागेश्वरी मनोहरा बस्ने ३३ वर्षीय कविराज चौलागाई, सुनसरी इनरूवा घर भएका ३४ वर्षीय गोपाल भण्डारी, अर्घाखाँची पाणिनी घर भएका २९ वर्षीय गोविन्द घिमिरे र उदयपुर बेलका घर भएका २८ वर्षीय रूपेश माल रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले फरक-फरक देश पठाइदिने बाहानामा पीडितहरूबाट मोटो रकम ठगी गरेका थिए। जसमा कविराजले इटाली पठाइदिने भन्दै १० लाख रूपैयाँ, गोपालले मलेसिया पठाइदिने भन्दै १ लाख रूपैयाँ, गोविन्दले कोरिया पठाइदिने भन्दै ६ लाख ४५ हजार रूपैयाँ र रूपेशले स्विडेन पठाइदिने भन्दै २ लाख ६० हजार रूपैयाँ ठगी गरी सम्पर्कविहीन भएका थिए।

पीडितहरूको जाहेरी र उजुरीको आधारमा खोजतलास गर्दा उनीहरूलाई काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो। जसमा कविराजलाई काठमाडौं महानगरपालिका-१२ बाट, गोपाललाई काठमाडौं महानगरपालिका-१० बाट र गोविन्दलाई ललितपुर महानगरपालिका-१४ बाट सोमबार तथा रूपेशलाई महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरिएको छ।

पीडित ठगी गर्ने चारै जनालाई आवश्यक अनुसन्धान तथा कडा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको छ। प्रहरीले वैदेशिक रोजगारीको प्रलोभनमा पार्ने यस्ता व्यक्तिहरूबाट सचेत रहन सबैमा अपील गरेको छ।