१ करोड बढी ठगी गर्ने ‘निम एजुकेसन’ का सञ्चालक दिप बहादुर तामाङ पक्राउ, १५ जनालाई जापान पठाउने बहानामा उठाइदिए रकम

१ करोड बढी ठगी गर्ने ‘निम एजुकेसन’ का सञ्चालक दिप बहादुर तामाङ पक्राउ, १५ जनालाई जापान पठाउने बहानामा उठाइदिए रकम

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठूलो रकम ठगी गर्ने एक कन्सल्टेन्सी सञ्चालक प्रहरीको फन्दामा परेका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका-५ बस्ने ‘NEEM EDUCATION CONSULTANCY PVT. LTD.’ का सञ्चालक २६ वर्षीय दिप बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

रामेछापको लिखु तामाकोशी गाउँपालिका-१ घर भएका तामाङले जापान पठाइदिन्छु भन्दै विभिन्न १५ जना सोझासाझा पीडितहरूबाट कुल १ करोड १ लाख रुपैयाँ कुम्ल्याएर सम्पर्कविहीन भएका थिए।

पीडितहरूको जाहेरी र उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई लुकिछिपी बसेको अवस्थामा ललितपुरको महालक्ष्मी नगरपालिका-५ बाटै नियन्त्रणमा लिन सफल भएको हो।

विदेश पठाइदिन्छु भन्दै करोडौँ ठगी गरी फरार रहेका तामाङलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

आकर्षक प्रलोभनमा परी भरपर्दो र आधिकारिक कागजातबिना विनाईजाजत सञ्चालित संस्थाहरूलाई मोटो रकम नबुझाउन र यस्ता वैदेशिक रोजगारीका नाममा हुने ठगीप्रति सचेत रहन प्रहरीले आग्रह गरेको छ।