करेन्ट लागेर तीन जनाको मृत्यु, मोटरदेखि मोबाइल चार्ज गर्नेसम्म ज्यान गयो

करेन्ट लागेर तीन जनाको मृत्यु, मोटरदेखि मोबाइल चार्ज गर्नेसम्म ज्यान गयो

काठमाडौं, विद्युतीय करेन्ट लागेर बारा, कपिलवस्तु र बाँकेमा तीन जनाको मृत्यु भएको छ। फरक–फरक घटनामा करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बारामा महागढीमाई नगरपालिका–८ बेतौनाका २५ वर्षीय राजु देवनको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको छ। पचरौता नगरपालिका–८ बाजोपटीस्थित साथीको घरमा विद्युतीय मोटर जडान गरिएको धाराबाट करेन्ट लागेर गम्भीर घाइते भएका देवनको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्यु भएको हो।

त्यस्तै, कपिलवस्तुमा वाणगंगा नगरपालिका–१० ठेकईका ४५ वर्षीय सूर्य नारायण थारूको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ। आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थारूको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बाँकेमा पनि करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। डुडुवा गाउँपालिका–२ बेतहनीकी ३० वर्षीया सुनिता गोडियाको आइतबार दिउँसो मृत्यु भएको हो। आफ्नै घरमा विद्युतीय मोटर जडान गरिएको धाराबाट करेन्ट लागेर गम्भीर घाइते भएकी गोडियाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

तीनवटै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।