दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने युवक पक्राउ

दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने युवक पक्राउ

काठमाडौं, आकर्षक तलबसहित दक्षिण अफ्रिका पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंको कपनबाट एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–१ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्दै आएका ३२ वर्षीय सुजन न्यौपाने रहेका छन्।

प्रहरीका अनुसार न्यौपानेले दक्षिण अफ्रिका पठाइदिने भन्दै एक जना पीडितबाट २ लाख रुपैयाँ लिएका थिए। रकम लिएपछि उनी सम्पर्कविहीन भएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएका थिए।

उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले खोजी गर्ने क्रममा न्यौपानेलाई काठमाडौंको कपनबाट पक्राउ गरेको हो।

पक्राउ परेका न्यौपानेलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीमा जाने क्रममा अपरिचित व्यक्ति वा बिचौलियाको प्रलोभनमा परी रकम बुझाउँदा ठगीमा पर्ने जोखिम रहेकाले आवश्यक कागजात, रोजगारदाता र वैदेशिक रोजगारसम्बन्धी अनुमति तथा प्रक्रिया यकिन गरेर मात्र कारोबार गर्न प्रहरीले आग्रह गर्दै आएको छ।