वर्षायाम र गर्मीलाई मध्यनजर गर्दै वडा नं. ९ द्वारा सतर्कता अपनाउन आग्रह

वर्षायाम र गर्मीलाई मध्यनजर गर्दै वडा नं. ९ द्वारा सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ९ ले वर्षायाम तथा गर्मी मौसमलाई मध्यनजर गर्दै वडावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

वडाले जारी गरेको जनहितको सन्देशमा अविरल वर्षाका कारण खोलानाला तथा ढलमा पानीको बहाव बढ्ने, डुबान तथा बाढीको जोखिम हुन सक्ने भएकाले सम्भावित जोखिमबाट जोगिन नागरिकलाई सचेत रहन आग्रह गरिएको हो।

वडाले खोलानाला, नदी किनार तथा जोखिमयुक्त स्थानमा अनावश्यक रूपमा नजान, वर्षाका कारण सडक तथा गल्लीमा जमेको पानीमा सावधानीपूर्वक आवतजावत गर्न अनुरोध गरेको छ।

त्यस्तै, घर, पसल तथा कार्यालय आसपासका नाला, ढल र पानी निकासका मार्ग सफा राख्न तथा नाला र खोलामा फोहोर, प्लास्टिकजन्य सामग्रीलगायतका वस्तु नफाल्न पनि वडाले आग्रह गरेको छ।

भारी वर्षाका बेला विद्युतका तार, पोल तथा विद्युतीय उपकरणबाट सुरक्षित दूरी कायम गर्न र बालबालिका तथा ज्येष्ठ नागरिकलाई बाढी, डुबान तथा चिप्लो सडकबाट जोगाउन विशेष सावधानी अपनाउन वडाले अनुरोध गरेको छ।

गर्मी मौसमलाई ध्यानमा राख्दै पर्याप्त पानी पिउन, घाममा लामो समय नबस्न तथा गर्मीका कारण हुन सक्ने स्वास्थ्य जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन पनि वडाले सुझाएको छ।

वर्षा तथा बाढीका कारण कुनै जोखिम वा आपत्कालीन अवस्था सिर्जना भएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गर्दै वडा नं. ९ ले ‘सफा नाला, सुरक्षित बस्ती र सचेत नागरिक—हाम्रो साझा जिम्मेवारी’ भन्ने सन्देश दिएको छ।

काठमाडौं महानगरपालिका वडा नं. ९ ले ‘सतर्क रहौँ, सुरक्षित रहौँ’ भन्दै सम्पूर्ण वडावासीमा अपिल गरेको छ।