बाढी प्रभावित क्षेत्रमा प्रहरी महानिरीक्षक कार्कीको स्थलगत अनुगमन, उद्धार र खोजीमा खटिन प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन
काठमाडौं, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट, रसुवालगायतका जिल्लाको स्थलगत अनुगमन तथा अवलोकन गरेका छन्।
बाढीपछि प्रभावित क्षेत्रमा नेपाल प्रहरीले सञ्चालन गरिरहेको उद्धार, खोजी, शव व्यवस्थापन, घटनास्थल मुचुल्का तथा राहत वितरणलगायतका कामबारे प्रहरी महानिरीक्षक कार्कीले स्थलगत जानकारी लिएका छन्।
अनुगमनका क्रममा उनले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रतिनिधिसँग भेट गरी उद्धार, खोजी, राहत वितरण र समग्र विपद् व्यवस्थापनलाई थप प्रभावकारी, व्यवस्थित र पारदर्शी बनाउने विषयमा छलफल गरेका छन्।
प्रहरी महानिरीक्षक कार्कीले विपद्को कठिन परिस्थितिमा नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै उच्च मनोबलका साथ सेवामा जुट्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। उद्धार तथा खोजी कार्यमा आफ्नो ज्ञान, सीप, विवेक र क्षमताको उच्चतम प्रयोग गर्दै कुनै कसर बाँकी नराख्न उनले आग्रह गरेका छन्।
उनले बाढी प्रभावित क्षेत्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षामा विशेष संवेदनशीलता अपनाउन पनि निर्देशन दिएका छन्। विपद्को अवस्थालाई अवसरका रूपमा प्रयोग गरी हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीलाई थप चनाखो र सक्रिय रहन उनले जोड दिएका छन्।
त्यस्तै, स्थानीय तहसँग आवश्यक समन्वय गरी प्रभावित नागरिकसम्म पुग्ने राहत वितरणलाई पारदर्शी र प्रभावकारी बनाउन पनि प्रहरी कर्मचारीलाई निर्देशन दिइएको छ।
प्रहरी महानिरीक्षक कार्कीसँगै नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले समेत बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका थिए।
विपद्को समयमा प्रहरीको उद्धार तथा खोजी अभियानलाई थप प्रभावकारी बनाउन नेतृत्व तहबाटै प्रभावित क्षेत्रमा पुगेर आवश्यक निर्देशन र समन्वयलाई प्राथमिकता दिइएको नेपाल प्रहरीले जनाएको छ।



प्रतिकृया दिनुहोस्