मोर्गन इन्टरनेशनल कलेजका प्रिन्सिपल डा. दीपेन्द्र भण्डारी ‘मिडिया ठाँटी सम्मान–२०८३’ बाट सम्मानित
काठमाडौं। मोर्गन इन्टरनेशनल कलेजका प्रिन्सिपल तथा शिक्षाविद् डा. दीपेन्द्र भण्डारीलाई शिक्षा, शैक्षिक नेतृत्व, नेपाली सञ्चार तथा सामाजिक क्षेत्रमा पुर्याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै ‘मिडिया ठाँटी सम्मान–२०८३’ प्रदान गरिएको छ।
मिडिया ठाँटी प्रा.लि.को तेस्रो वार्षिकोत्सव तथा चौथो वर्ष प्रवेशको अवसरमा आयोजित विशेष समारोहमा उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो। लामो समयदेखि गुणस्तरीय, व्यावहारिक तथा रोजगारमुखी शिक्षाको प्रवर्द्धन, अनुशासित शैक्षिक नेतृत्व तथा दक्ष जनशक्ति उत्पादनमा निर्वाह गर्नुभएको प्रेरणादायी भूमिकाको उच्च मूल्याङ्कन गर्दै सम्मान अर्पण गरिएको आयोजकले जनाएको छ।
डा. भण्डारी हाल काठमाडौंको बसुन्धरास्थित मोर्गन इन्टरनेशनल कलेजका प्रिन्सिपल तथा क्याम्पस प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ। उहाँको नेतृत्वमा कलेजले सूचना प्रविधि (IT), होटल व्यवस्थापन (BHM) लगायतका कार्यक्रमलाई गुणस्तरीय र अन्तर्राष्ट्रियस्तरको बनाउँदै विद्यार्थीलाई रोजगारीमुखी शिक्षा प्रदान गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ।
सम्मान ग्रहणपछि डा. भण्डारीले यो सम्मान सम्पूर्ण मोर्गन परिवार, विद्यार्थी, अभिभावक तथा सहकर्मी शिक्षक–कर्मचारीप्रतिको सम्मान भएको उल्लेख गर्दै आगामी दिनमा पनि शिक्षा क्षेत्रको विकास, नैतिक मूल्य, अनुसन्धान तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
‘मिडिया ठाँटी सम्मान–२०८३’ विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वलाई प्रोत्साहन, सम्मान र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ प्रदान गरिएको हो।



प्रतिकृया दिनुहोस्