‘राष्ट्रहित, सुशासन र सिद्धान्तमा आधारित राजनीति आजको आवश्यकता’ : पूर्व डीआईजी रमेश खरेल
काठमाडौं। पूर्व डीआईजी रमेश खरेलले मुलुकमा सुशासन, पारदर्शिता र सिद्धान्तमा आधारित राजनीतिक संस्कृतिलाई सुदृढ बनाउन आवश्यक रहेको प्रस्ट पार्दै उहाँले नेपालमा संघीय संरचना, प्रदेश सरकार, संसदको आकार तथा राज्यको प्रशासनिक खर्चबारे समयानुकूल समीक्षा आवश्यक रहेको औँल्याउनुभएको छ। जनताको करबाट सञ्चालित राज्य संयन्त्र प्रभावकारी, मितव्ययी र जनउत्तरदायी हुनुपर्ने उहाँको भनाइ छ।
खरेलले प्रदेश सरकारको प्रभावकारितामाथि राष्ट्रिय बहस हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ। साथै, स्थानीय तहलाई थप अधिकारसम्पन्न र सशक्त बनाउँदै प्रदेश संरचनाको आवश्यकता, खर्च तथा उपलब्धिबारे खुला समीक्षा गर्नुपर्ने उहाँले ठाँटी खबरसँग बताउनुभयो।
वर्तमान राजनीतिक समीकरणबारे टिप्पणी गर्दै उहाँले सत्ता साझेदारीभन्दा सुशासन, पारदर्शिता र जनहितलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। विचार र सिद्धान्त नमिल्ने दलहरूबीचको गठबन्धनले लोकतन्त्रप्रतिको जनविश्वास कमजोर बनाउन सक्ने उहाँको भनाइ छ।
नेपाली कांग्रेसका सन्दर्भमा खरेलले पार्टीले लोकतान्त्रिक मूल्य, बीपी कोइरालाको विचार र संगठनात्मक सिद्धान्तलाई केन्द्रमा राखेर निर्णय लिनुपर्ने सुझाव दिनुभयो। सरकारमा सहभागी हुनुभन्दा आवश्यक पर्दा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नु पनि लोकतन्त्रको महत्वपूर्ण पक्ष भएको उहाँले उल्लेख गर्नुभयो।
बीपी कोइरालाको स्मृति सभामा सहभागी भएको उल्लेख गर्दै उहाँले बीपीले स्थापित गर्नुभएको लोकतान्त्रिक आदर्श, नैतिक राजनीति र राष्ट्रप्रतिको समर्पण आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो।
खरेलले सम्पूर्ण राजनीतिक नेतृत्वलाई राष्ट्रहितलाई सर्वोपरि राखेर सुशासन, पारदर्शिता, विकास र जनविश्वासलाई बलियो बनाउने दिशामा अघि बढ्न आह्वान गर्नुभयो। जनताको विश्वास नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति भएकाले जिम्मेवार, उत्तरदायी र सिद्धान्तनिष्ठ राजनीतिक अभ्यास आवश्यक रहेको उहाँले ठाँटी खबरसँग बताउनुभयो।



प्रतिकृया दिनुहोस्