शैक्षिक परामर्श नियमावली २०८३ विरुद्ध १४ संस्था एकजुट, संशोधनको माग
काठमाडौं। शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील १४ वटा राष्ट्रिय संघ–संस्थाले सरकारले लागू गरेको “शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३” का केही प्रावधानप्रति गम्भीर असन्तुष्टि जनाउँदै तत्काल संशोधनको माग गरेका छन्। संयुक्त रूपमा जारी गरिएको प्रेस विज्ञप्तिमा नियमावलीका विवादास्पद व्यवस्थाले विद्यार्थी, अभिभावक, शैक्षिक परामर्श व्यवसाय, निजी लगानी, रोजगारी तथा नेपालको अन्तर्राष्ट्रिय शैक्षिक छविमा नकारात्मक असर पर्ने दाबी गरिएको छ।
संघ–संस्थाहरूले आफूहरू प्रभावकारी नियमनको विपक्षमा नभई पारदर्शी, उत्तरदायी र विद्यार्थीमैत्री नियमनको पक्षमा रहेको स्पष्ट गर्दै हालको नियमावलीमा राखिएका केही प्रावधान व्यवहारिक नभएको बताएका छन्। उनीहरूले विशेषगरी धरौटीसम्बन्धी व्यवस्था, जटिल प्रशासनिक प्रक्रिया, अस्पष्ट कानुनी प्रावधान, संघीय संरचनासँग नमिल्ने व्यवस्थाहरू तथा सरोकारवालासँग पर्याप्त परामर्श नगरी नियमावली ल्याइएको विषयमा आपत्ति जनाएका छन्।
संयुक्त विज्ञप्तिमा विद्यार्थीको सुरक्षाका लागि ठूलो रकम धरौटी राख्नुभन्दा प्रभावकारी बीमा प्रणाली, स्पष्ट कानुनी उत्तरदायित्व र अनुगमन प्रणाली आवश्यक रहेको उल्लेख गरिएको छ। साथै, अनुमति, नवीकरण, अनुगमन तथा अभिलेखीकरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्न, नियमावलीका विवादास्पद प्रावधान तत्काल संशोधन गर्न तथा पाँच वर्षे नवीकरण व्यवस्था कायम गर्न सरकारसँग माग गरिएको छ।
सरकारले आफ्ना सुझाव बेवास्ता गर्दै नियमावली यथावत् कार्यान्वयन गरे देशव्यापी हस्ताक्षर अभियान, कानुनी उपचार, जनचेतनामूलक अभियान तथा आवश्यक परे शान्तिपूर्ण आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनी पनि संघ–संस्थाहरूले दिएका छन्। माग सम्बोधन नभए देशभरका शैक्षिक परामर्श संस्थाहरू बन्द गरी सडक आन्दोलनमा उत्रिनेसम्मको कार्यक्रम सार्वजनिक गरिएको छ।
यो संयुक्त विज्ञप्तिमा फेडेरेसन अफ एजुकेशनल कन्सल्टेन्सी इन्टरप्रेनर्स नेपाल (FECE Nepal), एजुकेशनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल (ECAN), फ्री एजुकेशनल कन्सल्टेन्सिज अर्गनाइजेसन नेपाल (FECON), जापानिज ल्याङ्ग्वेज स्कुल एसोसिएसन नेपाल (JALSAN), EPCAN, KECAN, AECAN, AAERI Nepal, IERIN, NAAER, NECA, NEBA, NECSA लगायतका संस्थाको समर्थन रहेको उल्लेख गरिएको छ।



प्रतिकृया दिनुहोस्