वैकल्पिक राजनीतिको पक्षमा नारायणप्रसाद खनालको दाबी, रास्वपाको महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी

वैकल्पिक राजनीतिको पक्षमा नारायणप्रसाद खनालको दाबी, रास्वपाको महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी

चितवन, असार ९ — वैकल्पिक राजनीति, नयाँ राजनीतिक संस्कृति र नागरिक केन्द्रित शासन व्यवस्थाको पक्षमा लामो समयदेखि वैचारिक अभियान चलाउँदै आएका नारायणप्रसाद खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा खस–आर्य कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।

अर्घाखाँची जन्मथलो तथा कपिलवस्तुलाई कर्मथलो बनाएका खनालले २०४१ सालदेखि आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेको बताउँछन्। उनका अनुसार उनले विभिन्न समयमा नेकपा मसाल, नेकपा माओवादी, नयाँ शक्ति पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, जसपा नेपाल, प्रलोप नेपाल तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) लगायतका राजनीतिक धारमा आबद्ध हुँदै वैचारिक योगदान पुर्‍याएका छन्।

खनालले पछिल्लो समय नेपालमा विकसित हुँदै गएको वैकल्पिक राजनीतिक बहसलाई संस्थागत बनाउन आफू सक्रिय रहेको दाबी गर्छन्। उनको भनाइमा जनस्तरमा नयाँ राजनीतिक चेतना विस्तार गर्न तथा वैकल्पिक राजनीतिक धारका विभिन्न व्यक्तित्व, अभियान र समूहबीच संवाद, सहकार्य र ध्रुवीकरणको वातावरण निर्माण गर्न उनले महत्वपूर्ण भूमिका खेलेका छन्।

विशेषगरी डा. बाबुराम भट्टराई, बालेन्द्र (बालेन) शाह, कुलमान घिसिङ, विवेकशील अभियानसँग आबद्ध व्यक्तित्वहरू, डा. डम्बर खतिवडा , लक्ष्मण थारु लगायत वैकल्पिक सोच र नयाँ राजनीतिक संस्कृतिको पक्षमा उभिएका विभिन्न व्यक्तित्व तथा समूहहरूलाई एउटै वैचारिक बहसको साझा मञ्चमा ल्याउन आफूले निरन्तर पहल गरेको उनको दाबी छ। उनले वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य, संवाद र साझा उद्देश्यको खोजीमार्फत नयाँ राजनीतिक संस्कृतिको आधार निर्माण गर्न योगदान दिएको उल्लेख गरेका छन्।

उनले नेपालको परम्परागत राजनीतिक अभ्यासमाथि प्रश्न उठाउँदै १८औँ शताब्दीपछि विकसित पुँजीवादी र साम्यवादी राजनीतिक मोडेलको सान्दर्भिकतामाथि विश्वभर बहस भइरहेको अवस्थामा नेपालमा पनि नयाँ सोच, नयाँ नेतृत्व र नयाँ राजनीतिक संस्कृतिको आवश्यकता रहेको बताउँछन्। यही मान्यतासहित आफूले वर्षौंदेखि वैचारिक पैरवी, जनचेतनामूलक अभियान तथा वैकल्पिक राजनीतिक बहसलाई अगाडि बढाउँदै आएको उनको भनाइ छ।

रास्वपाको महाधिवेशनलाई वैकल्पिक राजनीतिको नयाँ अवसरका रूपमा व्याख्या गर्दै खनालले पार्टीभित्र सुशासन, पारदर्शिता, उत्तरदायित्व र नागरिक केन्द्रित राजनीतिलाई थप सुदृढ बनाउन आफ्नो उम्मेदवारी केन्द्रित हुने बताएका छन्।

राजनीतिक वृत्तमा सरल, स्पष्टवक्ता र वैचारिक बहसका पक्षधर व्यक्तित्वका रूपमा चिनिने खनालले पुराना राजनीतिक अभ्यासको विकल्प खोजिरहेका नागरिकको आवाजलाई पार्टीको केन्द्रीय तहसम्म पुर्‍याउने लक्ष्यसहित उम्मेदवारी दिन लागेको बताएका छन्।

रास्वपाको महाधिवेशन नजिकिँदै जाँदा वैकल्पिक राजनीतिक धारका पक्षधरहरूबीच खनालको उम्मेदवारीलाई चासोका साथ हेरिएको छ। उनले पार्टीलाई अझ लोकतान्त्रिक, समावेशी, विचारमुखी र जनउत्तरदायी बनाउन आफूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।