शिक्षा सुधारका लागि खोजमूलक पत्रकारिता अपरिहार्य : शिक्षा पत्रकारको क्षमता अभिवृद्धिमा जोड

शिक्षा सुधारका लागि खोजमूलक पत्रकारिता अपरिहार्य : शिक्षा पत्रकारको क्षमता अभिवृद्धिमा जोड

काठमाडौं, ८ असार । गुणस्तरीय शिक्षा सुनिश्चित गर्न, शैक्षिक समस्या उजागर गर्न तथा राज्यलाई थप उत्तरदायी बनाउन खोजमूलक र तथ्यमा आधारित शिक्षा पत्रकारिता आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।



शिक्षा पत्रकार समूह (ईजेजी) र शिक्षा नीति तथा अभ्यास केन्द्रको सहकार्यमा राजधानीमा आयोजित एकदिने क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रममा वक्ताहरूले शिक्षा क्षेत्रका गहन मुद्दाहरूलाई सञ्चार माध्यममार्फत प्रभावकारी रूपमा उठाउनुपर्नेमा जोड दिएका हुन्।



कार्यक्रममा वरिष्ठ पत्रकार तथा ‘शिक्षक’ मासिकका सम्पादक राजेन्द्र दाहालले शिक्षा पत्रकारिता घटनामुखी मात्र नभई नीतिगत, विश्लेषणात्मक र परिणाममुखी हुनुपर्ने बताउनुभयो। उहाँले परीक्षाको नतिजा बढ्यो वा घट्यो भन्ने तथ्य प्रस्तुत गर्नु मात्र पर्याप्त नभई त्यसको कारण र प्रभावबारे गहिरो अध्ययनसहित समाचार सम्प्रेषण गर्नुपर्ने धारणा राख्नुभयो।



शिक्षा विश्लेषक टीका भट्टराईले शिक्षाको मूल मर्म बुझेर अनुसन्धानमूलक पत्रकारिता गर्न सके शिक्षा सुधारमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले शिक्षा केवल ज्ञान आर्जनको माध्यम नभई सहअस्तित्व, मानवीयता र जिम्मेवार नागरिक निर्माणको आधार भएकाले त्यससँग सम्बन्धित विषयमा गहिरो अध्ययन आवश्यक रहेको उल्लेख गर्नुभयो।



कार्यक्रममा विद्यालय शिक्षा, बजेट विनियोजन, दुर्गम क्षेत्रका शैक्षिक चुनौती, नीति निर्माण र कार्यान्वयनबीचको अन्तर तथा शिक्षण सिकाइको गुणस्तर सुधारका विषयमा व्यापक छलफल भएको थियो। सहभागी पत्रकारहरूले स्थानीय तहका अभ्यास, विद्यालयको वास्तविक अवस्था र विद्यार्थीका अनुभवलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका थिए।



शिक्षा पत्रकार समूहकी अध्यक्ष निर्जला कक्षपतिले शिक्षा पत्रकारको क्षमता विकास, व्यावसायिक सञ्जाल विस्तार तथा शिक्षा क्षेत्रमा तथ्यपरक पत्रकारिताको प्रवर्द्धनमा समूह निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।



कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत ३५ भन्दा बढी शिक्षा पत्रकारको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले शिक्षा क्षेत्रका जटिल विषयमा गहिरो बुझाइ विकास गर्न, खोजमूलक समाचार लेखनमा उत्प्रेरणा दिन तथा शिक्षा सुधारका बहसलाई थप सशक्त बनाउन सहयोग पुगेको बताएका छन्।



शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन, पारदर्शिता र उत्तरदायित्व प्रवर्द्धन गर्न पत्रकारिताको भूमिका अझ प्रभावकारी बनाउने उद्देश्यसहित सम्पन्न उक्त कार्यक्रमले शिक्षा सुधारका लागि सञ्चार क्षेत्रको योगदानलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।