एसईई उत्तीर्ण विद्यार्थीलाई पूर्व विद्यार्थी समाज (ASNRSS) को भव्य बधाई तथा स्वागत
काठमाडौं, असार २०८३ – नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नेपालटारबाट २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सफलतापूर्वक उत्तीर्ण गरेका विद्यार्थीहरूलाई बधाई, स्वागत तथा प्रोत्साहन गर्न पूर्व विद्यार्थी समाज (ASNRSS) ले विशेष कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। पूर्व विद्यार्थी समाजका संस्थापक तथा प्रथम अध्यक्ष रामराजा ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सनफ्लावर एकेडेमीका व्यवस्थापन अध्यक्ष तथा तारकेश्वर सिटी हस्पिटलका सञ्चालक उद्धव बोगटी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
प्रमुख अतिथि बोगटीले पूर्व विद्यार्थी समाजले विद्यालय, विद्यार्थी र समुदायको हितमा गरिरहेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा विद्यार्थीहरूको शैक्षिक तथा व्यक्तित्व विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई विभिन्न सेवासुविधामा सहुलियत उपलब्ध गराउने परिचयपत्र व्यवस्था, घोडाचढी सम्बन्धी सीप तथा ज्ञान प्रदान गर्ने लगायतका योजनाबारे जानकारी दिनुभयो।
कार्यक्रममा वक्ताहरूले पूर्व विद्यार्थी समाज विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीहरूको हौसला वृद्धि तथा पूर्व विद्यार्थीहरूबीचको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण माध्यम बनेको उल्लेख गरे। समाजका संस्थापक वरिष्ठ उपाध्यक्ष विष्णु कार्कीले समाज स्थापना गर्नुको उद्देश्य र आवश्यकताबारे प्रकाश पार्दै विद्यालय र समुदायको विकासमा समाजले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
६३ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै शिक्षा, अनुशासन र सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गरिएको थियो। कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण दाता तथा सहयोगीहरूलाई आयोजकले विशेष धन्यवाद ज्ञापन गरेको छ।
विद्यार्थीहरूलाई सम्मान, प्रोत्साहन र मार्गदर्शन प्रदान गर्दै विद्यालय तथा पूर्व विद्यार्थीबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजित कार्यक्रम भव्य, सभ्य र सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।



प्रतिकृया दिनुहोस्