सुरज खनालको कथा र निर्देशनमा ‘लौका घिरौंला’ सार्वजनिक, मुकुन्द र जुनाको लोभलाग्दो अभिनय
काठमाडौँ । नेपाली लोकदोहोरी क्षेत्रमा पछिल्लो समय मौलिकता हराउँदै गएको गुनासो आइरहँदा युवा निर्देशक सुरज खनालले एक उत्कृष्ट मौलिक कोशेली ‘लौका घिरौंला’ बजारमा ल्याएका छन्। खनालको सशक्त कथा र निर्देशनमा तयार भएको यो गीत सार्वजनिक भएको छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ।
निर्देशक सुरज खनालले यस भिडियोमार्फत गाउँघरको वास्तविक परिवेश, ठ्ट्यौली शैली र मौलिकपनलाई पर्दामा उतारेका छन्। गीतको दृश्य भाषा र कलाकारको प्रस्तुतिलाई खनालले यसरी संयोजन गरेका छन् कि, यसले दर्शकलाई पुरानो ग्रामीण जीवनको झझल्को दिलाउँछ। सामाजिक सञ्जालमा अहिले खनालको निर्देशन कौशलको निकै प्रशंसा भइरहेको छ।

लोकदोहोरी क्षेत्रका चर्चित गायक बिरु घर्ती मगर र सुमधुर स्वरकी धनी सुनीता बुढा क्षेत्रीको स्वर रहेको यस गीतमा खुमराज घिमिरेको शब्द तथा संगीत रहेको छ। गीतको शब्द र लयले स्रोतालाई झुम्न बाध्य बनाउँछ।
भिडियोमा चर्चित कलाकार मुकुन्द भट्ट (मुकु) र जुना कार्कीको मुख्य अभिनय रहेको छ। उनीहरूको जीवन्त अभिनय र निर्देशक खनालको सुक्ष्म निर्देशनले भिडियोलाई थप आकर्षक बनाएको छ। भिडियोको छायांकन शिव बि.के. ले गरेका हुन् भने सम्पादन विनोद बम ले गरेका हुन्। त्यस्तै, नवीन पौडेलको कोरियोग्राफीले गीतमा अझै रौनकता थपेको छ।
“हामीले नेपाली माटोको सुगन्ध आउने गरी यो भिडियो तयार गर्ने प्रयास गरेका छौँ, दर्शकहरूको मायाले झन् उत्साह थपेको छ,” निर्देशक सुरज खनालले बताए।
कहाँ हेर्ने? यो गीत अहिले खुमराज घिमिरेको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भइसकेको छ। भिडियोमा आइरहेका सकारात्मक प्रतिक्रिया र बढ्दो भ्युजले यो वर्षकै एक उत्कृष्ट लोकदोहोरी गीत बन्ने संकेत देखिएको छ।



प्रतिकृया दिनुहोस्