एउटै मञ्चमा ४ बालप्रतिभाको ऐतिहासिक सफलता, अन्तर्राष्ट्रिय अवसरसहित सम्मानित
काठमाडौं । बालबालिकाको प्रतिभा, आत्मविश्वास र सिर्जनशीलतालाई उजागर गर्ने उद्देश्यले आयोजित १५औँ ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२६’ भव्य रूपमा सम्पन्न भएको छ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा एउटै स्टेजबाट एकैसाथ ४ जना बालप्रतिभाले शीर्ष उपाधि जित्दै नयाँ इतिहास रचेका छन् ।
प्रतियोगिताको जुनियर ब्वाइजतर्फ निल वंशल, जुनियर गर्लतर्फ शिवाना पाण्डे, सिनियर ब्वाइजतर्फ आर्सुअंश भण्डारी तथा सिनियर गर्लतर्फ आरिका उप्रेती विजेता घोषित भए । उनीहरूको सफलता बालप्रतिभा प्रवर्द्धन र नेपाली बालबालिकाको अन्तर्राष्ट्रिय सम्भावनाको प्रतीकका रूपमा हेरिएको छ ।
प्रतियोगितामा विभिन्न उमेर समूहका बालबालिकाले आफ्नो व्यक्तित्व, प्रतिभा, आत्मविश्वास तथा प्रस्तुतीमार्फत दर्शक र निर्णायकको मन जितेका थिए । विजेतासहित उत्कृष्ट प्रदर्शन गर्ने अन्य प्रतिस्पर्धीहरूलाई पनि विभिन्न रनरअप उपाधिसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा सांगीतिक प्रस्तुति, आकर्षक फेसन शो तथा बालमैत्री सांस्कृतिक झाँकीले थप रौनकता दिएको थियो । आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय फेसन कोच राज फैजुले प्रतियोगिताले बालबालिकाको प्रतिभा निखार्दै उनीहरूलाई भविष्यमा सक्षम र आत्मनिर्भर बन्न प्रेरणा दिने बताए ।
डेढ दशकदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सौन्दर्य तथा व्यक्तित्व विकास प्रतियोगिता आयोजना गर्दै आएका फैजुले यस वर्ष जुनियरतर्फ २५ र सिनियरतर्फ २० गरी ४५ जना बालबालिकालाई फाइनल चरणसम्म पुर्याइएको जानकारी दिए ।

प्रतियोगितामा अभिनेता मुकुन भुषाल, अभिनेत्री रेनुनाथ योगी, काठमाडौं वर्ल्ड स्कुलका कोअर्डिनेटर राजेश घिमिरे, संस्कार गुरुकुलका संस्थापक प्रिन्सिपल अमन हिताङ, कोरोना स्कुलकी बोर्ड अफ डाइरेक्टर रोशनी शाही ठकुरी, आइइभेन्ट म्यानेजमेन्ट निर्देशक आशिष थापा मगर तथा सिजी लर्निङ ब्राण्ड हेड शिरिष आर तुलाधर निर्णायकको भूमिकामा रहेका थिए ।
६ देखि १३ वर्ष उमेर समूहका बालबालिकाको सहभागिता रहेको प्रतियोगिताको कोरियोग्राफी स्वयं अन्तर्राष्ट्रिय फेसन कोच राज फैजुले गरेका थिए भने ड्रेस डिजाइन श्रीषा बैदारले तयार गरेकी थिइन् ।
काठमाडौं वर्ल्ड स्कुल मुख्य प्रायोजक रहेको प्रतियोगिताका विजेताहरूले उपाधिसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त गरेका छन् । बालप्रतिभालाई विश्वस्तरमा चिनाउने यस्तो कार्यक्रमले नेपाली बालबालिकामा आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।



प्रतिकृया दिनुहोस्