श्रीमद्भागवत पितृ उद्धार सप्ताह ज्ञान महायज्ञ आयोजना हुँदै, धार्मिक जागरण र राष्ट्रकल्याणमा जोड

श्रीमद्भागवत पितृ उद्धार सप्ताह ज्ञान महायज्ञ आयोजना हुँदै, धार्मिक जागरण र राष्ट्रकल्याणमा जोड

ललितपुर, महालक्ष्मी नगरपालिका–२ स्थित ऐतिहासिक श्री भगवान स्थान परिसरमा पहिलो पटक “श्रीमद्भागवत महापुराण पितृ उद्धार सप्ताह ज्ञान महायज्ञ–२०८२” आयोजना हुने भएको छ। ॐ शिवशक्ति कल्याणी केन्द्र महाराज मूल समारोह समितिको आयोजनामा भाद्र २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने उक्त महायज्ञले धार्मिक, सामाजिक तथा राष्ट्रप्रेमको सशक्त सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रम विशेषगरी वि.सं. २०८२ भाद्र २३ र २४ गते जैन जी आन्दोलनमा शहीद भएका सम्पूर्ण पितृआत्माहरूको आत्मशान्ति, सम्पूर्ण पितृहरूको उद्धार तथा राष्ट्रकल्याणको उद्देश्यसहित आयोजना गरिएको आयोजकले जनाएको छ। साथै, वैदिक सनातन धर्म–संस्कृतिको संरक्षण, धार्मिक जागरण तथा सकारात्मक सामाजिक परिवर्तन ल्याउने लक्ष्य पनि राखिएको छ।

महायज्ञमार्फत ऐतिहासिक श्री भगवान स्थान परिसरको विकास तथा प्रवर्द्धनसँगै भक्तजनहरूको सहयोगमा सञ्चालित माँ कल्याणी वैदिक कन्या गुरुकुलको शैक्षिक प्रवर्द्धनका लागि कोष स्थापना गर्ने योजना समेत रहेको छ। यसले समाजमा शिक्षा, संस्कार र आध्यात्मिक चेतनाको प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

महायज्ञअन्तर्गत दैनिक रूपमा नित्य मण्डप पूजन, हवन, देवयज्ञ तथा पितृयज्ञ, श्रीमद्भागवत पाठ पारायण, संगीतमय कथा प्रवचन, आरती, भजन तथा कीर्तनका कार्यक्रमहरू सञ्चालन हुनेछन्। भाद्र २४ गते बिहान ६ बजे पञ्चेबाजा सहित कलश शोभायात्राबाट कार्यक्रमको शुभारम्भ गरिनेछ भने अन्तिम दिन पूर्णाहुति, तिलाञ्जलि तथा समापन कार्यक्रम हुनेछ।

विशेष रूपमा, वैदिक सनातन धर्मका प्रख्यात जगद्गुरु शिवशक्ति स्वरूपा माता श्री कल्याणीको गरिमामय उपस्थितिमा बाल विदुषीहरूद्वारा संगीतमय कथा प्रवचन तथा विभिन्न कलाकारहरूको भजन–कीर्तनले कार्यक्रमलाई अझ आकर्षक बनाउनेछ।

आयोजकका अनुसार, महायज्ञले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै सामाजिक विकृति–विसंगतिहरू न्यूनीकरण गर्दै समाजमा सकारात्मक ऊर्जा र एकताको भावना विकास गर्ने विश्वास गरिएको छ। साथै, श्रद्धालु भक्तजनहरूलाई तुलादान, भूमिदान, जलदान, अन्नदान जस्ता पुण्य कार्यमा सहभागी हुने अवसर पनि प्रदान गरिनेछ।

उक्त महायज्ञमा सहभागिता जनाई पुण्य लाभ लिन सम्पूर्ण श्रद्धालु तथा स्थानीयवासीलाई आयोजकले हार्दिक निमन्त्रणा दिएको छ।


(पूजा पाण्डे, सह-संयोजक, “श्रीमद्भागवत महापुराण पितृ उद्धार सप्ताह ज्ञान महायज्ञ–२०८२”)