डोल्पामा स्वास्थ्य राहत: प्रकाश खड्काको पहलमा १०९ जीवनरक्षक सामग्री हस्तान्तरण
डोल्पा । भौगोलिक विकटता र विशेषज्ञ चिकित्सकको अभाव झेलिरहेको दुर्गम हिमाली जिल्ला डोल्पाको स्वास्थ्य क्षेत्रमा एउटा महत्वपूर्ण कोशेढुङ्गा थपिएको छ । सामान्य उपचारका लागि पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेका डोल्पाली नागरिकका लागि विभिन्न २५ प्रकारका १०९ थान अत्यावश्यक स्वास्थ्य सामग्री जिल्ला अस्पताललाई उपलब्ध गराइएको छ ।
Gen Z Council कर्णाली प्रदेशका संयोजक प्रकाश खड्काको विशेष पहलमा ती सामग्रीहरू डोल्पा पुर्याइएको हो । हस्तान्तरण गरिएका सामग्रीहरूमा अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिन्डर, रगत जाँचका लागि हेमाटोलोजी एनालाइजर र श्वासप्रश्वासमा सहयोग पुर्याउने BiPAP मेसिनजस्ता जीवनरक्षक उपकरणहरू रहेका छन् ।
यी उपकरणहरू डोल्पा जिल्ला अस्पतालका इन्चार्ज डा. सिजन रावतलाई हस्तान्तरण गरिएको छ । अस्पतालका अनुसार यी उपकरणहरूको प्रयोगले आकस्मिक उपचार, श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी र प्रयोगशाला (ल्याब) सेवामा प्रत्यक्ष सुधार ल्याउनेछ ।
यस पवित्र कार्यमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशर ढकाल, Gen Z डोल्पाका संयोजक ज्ञान बहादुर बुढा तथा प्राविधिक सहयोगका लागि बागबजार काठमाडौँस्थित सुटमालाका राज कार्कीको महत्वपूर्ण सहकार्य रहेको जनाइएको छ ।
पछिल्लो समय दुर्गमको स्वास्थ्य सेवा सुधार्न प्रत्यक्ष हस्तक्षेपकारी भूमिका खेल्दै आएका प्रकाश खड्काको यो कदमलाई स्थानीयस्तरमा परिणाममुखी नेतृत्वको रूपमा उच्च प्रशंसा गरिएको छ । सडक सञ्जालको पहुँच नभएको स्थानमा यस्ता अत्याधुनिक उपकरण पुग्नुले डोल्पावासीको स्वास्थ्यमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।
(फोटो फिचर: डोल्पा जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिँदै)
समाचार स्रोत: राज कार्की



प्रतिकृया दिनुहोस्