गोरखाका सबै पालिकामा वैशाख ७ देखि पठनपाठन सुरु हुने, बजेट फुकुवा गर्न सरकारसँग माग

गोरखाका सबै पालिकामा वैशाख ७ देखि पठनपाठन सुरु हुने, बजेट फुकुवा गर्न सरकारसँग माग

गोरखा, ४ वैशाख । गोरखा जिल्लाका ११ वटै स्थानीय तहले आगामी वैशाख ७ गतेदेखि नयाँ शैक्षिक सत्रको भर्ना तथा पठनपाठन कार्य सुरु गर्ने निर्णय गरेका छन्। शुक्रबार जिल्ला समन्वय समिति गोरखाको हलमा बसेको नगरपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर थापा मगरको अध्यक्षतामा बसेको सो बैठकले शैक्षिक क्षेत्रमा देखिएको अन्यौलता चिर्दै पूर्व निर्धारित शैक्षिक क्यालेन्डरअनुसार नै अघि बढ्ने निचोड निकालेको छ।

शैक्षिक सत्र र कानुनी जटिलतामा ध्यानाकर्षण

बैठकले शिक्षा मन्त्रालयद्वारा हालै जारी गरिएका विद्यालय सञ्चालन र भर्नासम्बन्धी परिपत्रहरू प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपालको संविधान र शिक्षा नियमावली, २०५९ को नियम ८४ ले वैशाख १ गतेदेखि चैत मसान्तसम्मको शैक्षिक सत्र र कम्तिमा २२० दिन विद्यालय खुल्नुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै बैठकले संघीय सरकारको पछिल्लो निर्देशनले पठन कार्यघण्टा नपुग्ने चिन्ता व्यक्त गरेको छ।

अभिभावकहरूको माग र स्थानीय तहको कार्ययोजना अनुसार नै वैशाख ७ गतेबाट कक्षा सञ्चालन गर्ने निर्णय गरिएको र संघीय सरकारलाई यथाशिघ्र नयाँ शिक्षा ऐन निर्माण गरी अन्यौलता हटाउन अनुरोध गर्ने निर्णय समेत भएको छ।

विकास निर्माणका बजेट फुकुवा गर्न माग

शिक्षाका अतिरिक्त बैठकले जिल्लाको विकास निर्माणका विषयमा पनि महत्वपूर्ण निर्णय गरेको छ। आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय सरकारबाट विनियोजित विभिन्न विकास आयोजनाका बजेटहरू अझै रोक्का रहेका कारण जिल्लाका विकास कार्यहरू प्रभावित भएको बैठकले ठहर गरेको छ। रोकिएका सबै योजनाहरूको बजेट तुरुन्त फुकुवा गरी कार्यान्वयनको वातावरण मिलाउन संघीय सरकारसँग जोडदार माग गरिएको छ।


बैठकमा सहभागी व्यक्तित्वहरू:

जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न उक्त समन्वयात्मक बैठकमा निम्न जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो:

  • लिला परियार – उपप्रमुख, जिल्ला समन्वय समिति गोरखा

  • कृष्ण बहादुर राना मगर – प्रमुख, गोरखा नगरपालिका

  • विवस चिन्तन – प्रमुख, पालुङटार नगरपालिका

  • ज्ञानेन्द्र गुरुङ – अध्यक्ष, सिरानचोक गाउँपालिका

  • दीपक देवकोटा – अध्यक्ष, अजिरकोट गाउँपालिका

  • विष्णु भट्ट – अध्यक्ष, बारपाक सुलिकोट गाउँपालिका

  • लक्ष्मण गुरुङ – अध्यक्ष, धार्चे गाउँपालिका

  • निमा लामा – अध्यक्ष, चुमनुब्री गाउँपालिका

  • राजु गुरुङ – अध्यक्ष, आरुघाट गाउँपालिका

  • लोक प्रसाद बन्जारा (अक्कल) – अध्यक्ष, भिमसेनथापा गाउँपालिका

  • रमेश थापा मगर – अध्यक्ष, शहिद लखन गाउँपालिका

  • दीपक तिमिल्सिना – अध्यक्ष, गण्डकी गाउँपालिका

बैठकले जिल्लाका समसामयिक समस्या समाधानका लागि स्थानीय तहहरूबीच आपसी समन्वय र सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता समेत जनाएको छ।

(समाचारको स्रोत : कृष्ण बहादुर राना मगर – प्रमुख, गोरखा नगरपालिका)