नवनियुक्त सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाद्वारा पदभार ग्रहण
काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना ले आज सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ। मन्त्री तिमिल्सिनाले पदभार ग्रहण गर्दै आफ्नो प्राथमिकता जिम्मेवारी पूर्णता र देशप्रति समर्पण हुने बताएका छन्। उनले सबै कर्मचारी र मातहतका निकायका प्रमुखलाई सम्बोधन गर्दै, राजनीति र प्रशासनप्रति घट्दो विश्वास पुनःस्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताए।
‘हामीले जिम्मेवारी लिएका छौँ, र हाम्रो सबैभन्दा ठूलो धर्म भनेको राजनीति र प्रशासनप्रति घट्दो विश्वास पुनःस्थापित गर्नु हो,’ डा. तिमिल्सिनाले भने। उनले देशभर फैलिएको निराशा र भ्रमलाई हटाउँदै आशा र सकारात्मक परिवर्तन ल्याउन सबैलाई आह्वान गरे।
मन्त्रीले आफ्नो कार्यशैली र निर्णयहरू प्रधानमन्त्री बालेन्द्र शाह को ‘मिसन’ र ‘भिजन’ अनुरूप सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कर्मचारीहरूलाई ईमानदारी, क्षमताको सदुपयोग र सामूहिक भावनाको सम्मान गर्दै काम गर्न प्रोत्साहित गरे।
आज मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेत ले मन्त्रीलाई मन्त्रालयको प्रमुख नीति, योजना र कानूनी व्यवस्थाको ‘ब्रिफिङ’ दिइन्। उनले भने, ‘बजेट सिलिङ प्राप्त भइसकेको छ। तर्जुमा र प्राथमिकता निर्धारणको काम मन्त्रीको निर्देशनमा हुनेछ।’ मन्त्रालयका कर्मचारी र पदाधिकारीहरूले नवनियुक्त मन्त्रीलाई स्वागत र शुभकामना व्यक्त गरे।
डा. तिमिल्सिना राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य नुवाकोट क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन्। उनले अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालय बाट राजनीतिक र अन्तर्राष्ट्रिय मामिलामा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ।
सांसद हुनु अघि उनी त्रिभुवन विश्वविद्यालयमा आन्तरिक सुरक्षा, राजनीति र कूटनीतिमा अध्यापन गर्थे। अनुसन्धान र विश्लेषणमा दक्ष डा. तिमिल्सिना नेपालको शान्ति प्रक्रिया, परराष्ट्र नीति र भू-राजनीतिक अध्ययनमा पनि संलग्न रहनुभएको छ।
साहित्य, लेखन र पत्रकारितामा पनि सक्रिय डा. तिमिल्सिना भ्रष्टाचारविरुद्धको लडाईं: एन्टी करप्सन स्टडिज का विज्ञ मानिन्छन्। उनी एसियन इन्स्टिच्युट फर एड्भान्स रिसर्च का संस्थापक समेत हुन्।



प्रतिकृया दिनुहोस्