झुप्रा खोलाको बालुवा खानीदेखि सिंहदरबारको ‘मन्त्री’ सम्म: सीता वादीको त्यो आँसु र ऐतिहासिक उदय!
काठमाडौं । कुनै समय सुर्खेतको झुप्रा खोलामा “मेरो बालुवा किनिदिनुस् न” भन्दै ट्याक्टरका पछाडि कुद्ने एउटी सानी बालिका आज देशको नीति निर्माण गर्ने सर्वोच्च थलो सिंहदरबारको ‘हट सिट’मा पुगेकी छन्। बालेन शाह नेतृत्वको सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा कार्यभार सम्हाल्दै गर्दा सीता वादीका आँखा खुसी र संघर्षका यादले भरिए।
शुक्रबार पदभार ग्रहण गर्दै गर्दा मन्त्री सीता एक्कासि भक्कानिइन्। यो आँसु केवल भावना थिएन, यो त सदियौँदेखि तिरस्कृत वादी समुदायले सिंहदरबारभित्र पाएको पहिलो र ऐतिहासिक प्रवेशको गौरव थियो।
१. बालुवा खानीबाट काठमाडौँको यात्रा
२०५२ सालमा सुर्खेतको झुप्रा खोला किनारको सुकुम्बासी बस्तीमा जन्मिएकी सीताको बाल्यकाल बालुवा छान्ने र ढुङ्गा बोक्ने काममा बित्यो। साँझ पेटभरि खानका लागि दिनभरि बालुवा बिक्री हुनुपर्ने बाध्यता थियो। तर, १२ वर्षको उमेरमा ‘लाइट हार्ट’ नामक संस्थाको सहयोगमा काठमाडौँ आएपछि उनको जीवनले नयाँ मोड लियो।
२. विभेद चिर्न ‘राजनीतिशास्त्र’ मा स्नातकोत्तर
“हाम्रो समुदायलाई सधैँ पछाडि किन पारिन्छ?” भन्ने प्रश्नको उत्तर खोज्न सीताले राजनीतिशास्त्रमा स्नातकोत्तर (MA) गरिन्। उनी केवल अधिकारकर्मी मात्र होइनन्, एक सफल उद्यमी पनि हुन्। १२ सय रुपैयाँबाट हस्तकला व्यवसाय सुरु गरेकी उनले वादी समुदायका महिलालाई रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षासमेत दिँदै आएकी छन्।
३. १८ वर्षपछिको त्यो बदला
२०६४ सालमा वादी समुदायले काठमाडौँको सडकमा ४८ दिनसम्म अर्धनग्न आन्दोलन गरेको थियो। त्यतिबेला सडकमा अपमानित भएका वादी समुदायका तर्फबाट ठिक १८ वर्षपछि सीताले मन्त्रीका रूपमा सिंहदरबार छिरेर इतिहास रचेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई दलित महिला क्लस्टरबाट सांसद बनाउँदै मन्त्रीको जिम्मेवारीसम्म पुर्याएको हो।
४. झुप्रा खोलामा खुसीयाली
छोरी मन्त्री बनेको खबरले सुर्खेतको ‘नयाँ गाउँ’ (झुप्रा खोला बस्ती) यतिबेला उत्सवमय बनेको छ। अहिले पनि बालुवा खानीमै काम गरिरहेका सीताका बुवा-आमा र पूरै बस्तीले यसलाई आफ्नो समुदायकै ठुलो जीत मानेका छन्।
“हिजो जुन समुदायका लागि सडकमा आवाज उठाएकी थिएँ, आज तिनै माग सम्बोधन गर्ने ठाउँमा पुगेकी छु। यो अवसर र चुनौती दुवै हो।” – मन्त्री सीता वादी



प्रतिकृया दिनुहोस्