“हार्वर्डको ज्ञान अब सिंहदरबारको सान: अर्थतन्त्र सुधार्न डा. स्वर्णिम वाग्लेको ‘ग्लोबल’ मास्टरप्लान!”

“हार्वर्डको ज्ञान अब सिंहदरबारको सान: अर्थतन्त्र सुधार्न डा. स्वर्णिम वाग्लेको ‘ग्लोबल’ मास्टरप्लान!”

काठमाडौँ, १३ चैत । नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिन विश्वविख्यात अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कमान सम्हालेका छन्। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका वाग्लेले पहिलो दिनमै ‘नीतिगत क्रान्ति’ को संकेत दिएका छन्।

अर्थमन्त्री वाग्लेले पदभार ग्रहण गर्दै गर्दा दशकौँदेखि अर्थतन्त्रको विकासमा बाधक बनेका १५ वटा पुराना ऐनहरूराजस्व अनुसन्धान विभागलाई खारेज गर्ने प्रक्रिया अगाडि बढाउने फाइलमा हस्ताक्षर गरेका छन्। “उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१” को सिफारिसका आधारमा उनले यो साहसिक निर्णय लिएका हुन्।

खारेजीको सूचीमा रहेका केही प्रमुख ऐनहरू:

  • कालोबजार तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२

  • विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१

  • निकासी–पैठारी (नियन्त्रण) ऐन, २०१३

  • विर्ता उन्मूलन ऐन, २०१६ लगायत १५ वटा पुराना कानुन।

मन्त्री वाग्लेले अबको ५ दिनभित्र चैत ११, २०८२ सम्मको यथार्थ ‘आर्थिक स्थितिपत्र’ सार्वजनिक गर्न निर्देशन दिएका छन्। सरकारको चुनावी वाचापत्रलाई कार्यान्वयन गर्न उनले १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाएर अघि बढ्ने उद्घोष गरे। उनले भने—

“अब ठूला आयोजनामा हुने प्रक्रियागत झन्झट हटाइनेछ, तजबिजी अधिकार अन्त्य गरेर प्रणालीगत सुधार गरिनेछ। अर्थतन्त्रलाई टुक्राटुक्रामा होइन, समग्रतामा सुधार गरिनेछ।”

डिजिटल अर्थतन्त्रका हिमायती वाग्लेले अर्थ मन्त्रालयलाई नै देशको पहिलो पूर्ण ‘पेपरलेस’ र ‘क्यासलेस’ निकाय बनाउने अभियानको सुरुवात् गरेका छन्। अन्तर्राष्ट्रिय दातृ निकाय र विश्व बैंक जस्ता संस्थामा काम गरेको अनुभवलाई उनले अब नेपालको ‘रुपान्तरणकारी बजेट’ निर्माणमा लगाउने विश्वास गरिएको छ।

तनहुँ क्षेत्र नं. १ बाट ऐतिहासिक मतका साथ निर्वाचित वाग्ले हार्वर्ड र लण्डन स्कुल अफ इकोनोमिक्स जस्ता विश्वका उत्कृष्ट विश्वविद्यालयबाट दीक्षित छन्। प्रधानमन्त्री बालेन्द्र शाहको क्याबिनेटमा दोस्रो वरीयतामा रहेका वाग्लेको नियुक्तिले वैदेशिक लगानीकर्ता र निजी क्षेत्रमा ठूलो उत्साह जगाएको छ।