प्रशासन र भूमि व्यवस्थामा प्रतिभाको ‘इन्ट्री’: पदभार ग्रहणकै दिन देखाइन् छुट्टै शैली!
काठमाडौं, १३ चैत । संघीय शासन प्रणालीलाई मजबुत बनाउने र भूमिहीनका समस्या सुल्झाउने निकै चुनौतीपूर्ण जिम्मेवारी युवा नेत्री प्रतिभा रावलको काँधमा आएको छ। नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रावलले बिहीबार औपचारिक रूपमा दुवै मन्त्रालयको पदभार ग्रहण गरेकी छन्।
बिहीबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनी कार्यभार सम्हाल्न सिधै सिंहदरबार पुगेकी थिइन्।
मन्त्री रावलले पदभार ग्रहणको पहिलो दिनमै आफ्नो कार्यशैली कति गम्भीर छ भन्ने संकेत दिएकी छन्। धेरैजसो मन्त्रीहरूले कुर्चीमा बस्ने बित्तिकै चर्चाका लागि केही न केही निर्णय गर्ने परम्परालाई तोड्दै उनले कुनै पनि फाइलमा हतारमा हस्ताक्षर गरिनन्।
मन्त्रालयका सचिव र कर्मचारीहरूसँगको भेटमा उनले भनिन्—
“मन्त्रालयका कामकारबाही, कर्मचारी प्रशासन र भूमि व्यवस्थाका जटिलताहरूलाई पहिले मसिनो गरी बुझ्नेछु। अध्ययन र सल्लाहपछि मात्र जनताको हितमा हुने ठोस निर्णयहरू सार्वजनिक गरिनेछ।”
सामान्य प्रशासन र भूमि व्यवस्था दुवै मन्त्रालय सिधै जनतासँग जोडिने मन्त्रालय हुन्। निजामती कर्मचारीको व्यवस्थापनदेखि सहकारी पीडितको समस्या समाधान र भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण गर्ने जस्ता संवेदनशील काम अब प्रतिभाको नेतृत्वमा हुनेछ। उनको यो अध्ययनशील र संयमित सुरुवातले प्रशासन संयन्त्रमा नयाँ रक्तसञ्चार हुने र गरिबी निवारणका क्षेत्रमा देखिने गरी काम हुने अपेक्षा गरिएको छ।



प्रतिकृया दिनुहोस्